Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

ध्रुवे हात्तीको आतंक माडीसम्म पुग्यो, बनकट्टामा घर भत्कायो

ध्रुवे हात्तीको आतंक माडीसम्म पुग्यो, बनकट्टामा घर भत्कायो

चितवन : भरतपुर महानगरपालिका–२३ मा आमा–छोराको ज्यान लिएको ध्रुवे हात्ती एक सातापछि माडी नगरपालिका क्षेत्रमा पुगेको छ। ध्रुवेले गएराति माडी–१, बनकट्टामा एउटा घर भत्काएर आतंक मच्चाएको हो। स्थानीय अजय बोटेका अनुसार राति करिब साढे १ बजे ध्रुवे गाउँ पसेको थियो। हात्तीले दीपक बोटेको घर भत्काउन थालेपछि स्थानीयवासी त्रसित भएका थिए। घरभित्र रहेका तीन जना भने समयमै सतर्क हुँदा हात्तीको आक्रमणबाट जोगिएका छन्।

हात्तीलाई भगाउन स्थानीयले तत्काल ट्याक्टर बोलाएर स्टार्ट गरेका थिए। ट्याक्टरको आवाज, मानिसको भीड र हल्लाखल्लापछि ध्रुवे जंगलतर्फ भागेको स्थानीयले बताएका छन्। अजय बोटेका अनुसार ध्रुवे पहिलो पटक राति करिब १२ बजे बनकट्टास्थित बोटे टोलमा देखिएको थियो। स्थानीयले लखेटेपछि केही समय जंगलतर्फ गएको हात्ती करिब एक घण्टापछि पुनः फर्किएर दीपक बोटेको घर पुगेको उहाँले बताउनुभयो।

“घर भत्काउन थालेपछि परिवारले घरभित्रैबाट फोन गरेर हात्ती भगाउन सहयोग मागेका थिए। स्थानीय ट्याक्टरसहित पुगेपछि ध्रुवे भाग्यो,” बोटेले बताउनुभयो। मातेको ध्रुवे हात्ती पछिल्लो एक सातादेखि निरन्तर बस्ती आसपास देखिँदै आएको छ। गत असार २० गते राति भरतपुर महानगरपालिका–२३ मा ध्रुवेको आक्रमणबाट २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको मृत्यु भएको थियो।

उक्त घटनापछि चितवन राष्ट्रिय निकुञ्जले ध्रुवे हात्तीलाई नियन्त्रणमा लिन डार्ट गर्ने, दाह्रा काट्ने र जीपीएस कलर जडान गर्ने तयारी गरेको जनाएको छ। शनिबार विध्वंस मच्चाएपछि आइतबार मेघौली पुगेको ध्रुवे केही दिन बस्ती क्षेत्रमा नदेखिए पनि पुनः माडी क्षेत्रमा पुगेपछि स्थानीयमा त्रास बढेको छ। वन कार्यालय र निकुञ्ज प्रशासनले हात्तीको गतिविधि निगरानी गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij