Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रत्ननगर–५ को उदाहरणीय पहल : घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

रत्ननगर–५ को उदाहरणीय पहल : घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

रत्ननगर : रत्ननगर नगरपालिका वडा नं. ५ ले वडा कार्यालय वा बैंकसम्म पुग्न असमर्थ ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। वडाध्यक्ष बालकृष्ण चापागाईंको अग्रसरतामा वडा कार्यालय र कृषि विकास बैंक सौराहा शाखाको सहकार्यमा सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत २० जना लाभग्राहीलाई उनीहरूको घरमै पुगेर भत्ता वितरण गरिएको हो।

वडा सचिव दिनेश सुवेदीका अनुसार शारीरिक अवस्था, वृद्धावस्था तथा अन्य कारणले वडा कार्यालय वा बैंकसम्म पुग्न नसक्ने सेवाग्राहीलाई सहज, सुरक्षित र सम्मानजनक रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। यसबाट लाभग्राहीलाई सेवा लिनका लागि हुने झन्झट र अतिरिक्त खर्चसमेत घटेको छ।

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता पाएपछि लाभग्राही तथा उनीहरूका परिवारले वडा कार्यालयको पहलप्रति खुसी व्यक्त गरेका छन्। उनीहरूले स्थानीय सरकारले घरदैलोमै सेवा पुर्‍याएर नागरिकप्रति जिम्मेवार भूमिका निर्वाह गरेको बताएका छन्।

वडाध्यक्ष बालकृष्ण चापागाईंले स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले सेवा पनि नागरिककै घरदैलोमा पुग्नुपर्ने बताए। उनले आगामी दिनमा पनि ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित यस्ता सेवामुखी कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए। स्थानीय सरकारको नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको यो अभियानलाई वडाबासीले उदाहरणीय पहलका रूपमा स्वागत गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij