रत्ननगर : रत्ननगर नगरपालिका–८ स्थित चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित जडिबुटीयुक्त अर्गानिक साबुन बनाउने सातदिने सीपमूलक तालिम सुरु भएको छ। वन समूहकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक गीतादेवी शर्मा आचार्यको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा वडा नं. ८ का अध्यक्ष कृष्ण चौधरीले तालिमको उद्घाटन गर्नुभयो।
कार्यक्रममा वन समूहका अध्यक्ष पुष्पराज श्रेष्ठले वनप्रतिको उपभोक्ताको निर्भरता घटाउँदै आयआर्जनका वैकल्पिक अवसर सिर्जना गर्न यस्ता सीपमूलक तालिम आवश्यक रहेको बताउनुभयो। उहाँले महिलालाई उद्यमशील बनाउँदै घरेलु उत्पादनमार्फत आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो।
उद्घाटन कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष गणेश खतिवडा, निवर्तमान वडाध्यक्ष तथा वनका प्रमुख सल्लाहकार विनोद बस्नेत, सल्लाहकार प्रेमकुमार थपलिया, अनुगमन समिति संयोजक नन्दकुमार चौधरी तथा Dayjoy नेपाल प्रालिका निर्देशक वीरेन्द्र उपाध्यायलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा वन समूहकी कोषाध्यक्ष हिराकुमारी पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव श्रीकान्त पौडेलले गर्नुभएको थियो।
सात दिनसम्म सञ्चालन हुने तालिममा ५५ जना महिलाको सहभागिता रहेको छ। तालिममा जडिबुटीयुक्त अर्गानिक साबुन उत्पादन, गुणस्तर व्यवस्थापन, प्याकेजिङ तथा बजार व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिने जनाइएको छ। तालिमको सहजीकरण प्रशिक्षक जानकी चौधरीले गरिरहनुभएको छ। आयोजकका अनुसार तालिमबाट सहभागी महिलाले घरेलु उद्योग स्थापना गरी स्वरोजगार तथा आयआर्जनका अवसर सिर्जना गर्न सक्ने विश्वास गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij