Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल

बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारद्वारा घरबारविहीन बनाइएका सुकुमबासी र अव्यवस्थित बसोबासीहरूको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले आमसञ्चार माध्यमहरूमा सार्वजनिक भएका सुकुमबासीका पीडाहरू अत्यन्तै हृदयविदारक र संवेदनशील रहेको उल्लेख गरेका हुन्।

महासचिव पोखरेलले एकातिर नागरिकलाई उठिबास लगाउनु र अर्कोतिर सरकार आफैँले स्थापना गरेका होल्डिङ सेन्टरहरू समेत व्यवस्थापन गर्न नसकेर खाली गर्न लगाउनुले अमानवीयताको हद पार गरेको बताएका छन्। त्यहाँ आश्रित नागरिकलाई गाँस र पानीसमेत बन्द गरिएको तथा सुरक्षित भनिएका होल्डिङ सेल्टरहरू नै डुबानमा परेका समाचार आइरहेको भन्दै उनले सरकारको आलोचना गरेका छन्।

असुरक्षित र अनधिकृत क्षेत्रमा बसेका सुकुमबासीहरूलाई हटाउनुपूर्व उनीहरूको उचित व्यवस्थापन र पुनर्स्थापना गर्नु राज्यको पहिलो दायित्व भएको उनले स्मरण गराएका छन्। बस्तीबाट हटाउने समयमा प्रधानमन्त्रीबाट आकर्षक प्रतिबद्धता सार्वजनिक भए पनि व्यवहारमा त्यस्तो केही नदेखिएको उनको भनाइ छ। सुकुमबासी बस्ती खाली गर्नुलाई नै बहादुरी ठानिएका कारण अहिले विस्थापितहरूको अवस्था निकै जटिल बन्दै गएको उनले बताएका छन्।

सरकारले समयमै आफ्ना कमजोरी र त्रुटिहरूलाई सुधार गर्दै विस्थापितहरूको न्यायोचित व्यवस्थापनमा अविलम्ब ध्यान दिनुपर्ने माग पोखरेलले गरेका छन्। नागरिकलाई त्रासमा राखेर र सास्ती दिएर नभई उनीहरूको सुरक्षित आवास र बाँच्न पाउने हकको सम्मान गरेर मात्र कानुनी राज्यको मर्यादा जोगाउन सकिने उनको तर्क छ। नेपाली समाजले गणेश नेपालीको जस्तै फेरि अर्को कुनै अप्रिय घटना सुन्नु नपरोस् भन्दै उनले त्यसतर्फ सरकारको समयमै ध्यान जानुपर्ने कुरामा जोड दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij