Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

गणेशधामलाई धार्मिक पर्यटनको नमुना गन्तव्य बनाउने पूर्वमन्त्री सुवेदीको जोड, तीनवर्षे कार्ययोजना सार्वजनिक

गणेशधामलाई धार्मिक पर्यटनको नमुना गन्तव्य बनाउने पूर्वमन्त्री सुवेदीको जोड, तीनवर्षे कार्ययोजना सार्वजनिक

चितवन : गणेशधामलाई बागमती प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित गणेशधाम संरक्षण सम्बद्र्धन समितिले तीनवर्षे कार्ययोजना (२०८३–२०८५) सार्वजनिक गरेको छ। समितिमा सर्वसहमत राजनकुमार श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमितिले तीनवर्षे कार्ययोजना (२०८३–२०८५) सार्वजनिक गरेको महासचिव नवराज ढकालले जानकारी गराए समितिका संरक्षक तथा पूर्वमन्त्री विजय सुवेदीले गणेशधामको समग्र विकासका लागि गुरुयोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

गणेशधाम संरक्षण सम्बद्र्धन समितिद्वारा आयोजित तीनवर्षे कार्ययोजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै पूर्वमन्त्री सुवेदीले गणेशधाम धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र पर्यटनको महत्वपूर्ण केन्द्र बन्न सक्ने सम्भावना रहेको बताए। उनले धामको मौलिकता र धार्मिक महत्वलाई संरक्षण गर्दै आधुनिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने धारणा राखे।

“गणेशधामलाई केवल पूजा गर्ने स्थल मात्र नभई धार्मिक, सांस्कृतिक र पर्यटकीय आकर्षणको केन्द्र बनाउन गुरुयोजनाअनुसार योजनाबद्ध विकास आवश्यक छ,” सुवेदीले भने।

उनले गणेशधामको विकासले स्थानीय पर्यटन, रोजगारी र आर्थिक गतिविधिलाई समेत टेवा पुर्‍याउने उल्लेख गर्दै सबै पक्षको सहकार्यबाट मात्रै दीर्घकालीन उपलब्धि हासिल हुने बताए।

कार्यक्रमका विशिष्ट अतिथि समाजसेवी तथा समितिका निवर्तमान अध्यक्ष दिनेशकुमार चुकेले गणेशधामको धार्मिक महत्वलाई थप विस्तार गर्न नयाँ संरचना र आकर्षणका कार्यक्रम आवश्यक रहेको बताए। उनले धामलाई थप व्यवस्थित र आकर्षक बनाउन पहल भइरहेको जानकारी दिए।

समितिका अध्यक्ष राजनकुमार श्रेष्ठले गणेशधामको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व उजागर गर्दै आगामी योजनाबारे जानकारी गराए। उनले धामको विकासका लागि आवश्यक स्रोत जुटाउने र संरचना निर्माणलाई प्राथमिकतामा राखिने बताए।

समितिका प्रथम उपाध्यक्ष बाबुराम अधिकारीले गणेशधामलाई नमुना धार्मिक स्थल बनाउन विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट करिब ६ करोड रुपैयाँ सहयोग संकलन गर्ने लक्ष्य रहेको जानकारी दिए। द्वितीय उपाध्यक्ष विक्रम श्रेष्ठले परिसरमा आकर्षक सेल्फी गार्डेन निर्माण गर्ने योजना सार्वजनिक गरे।

महासचिव नवराज ढकालले तीनवर्षे कार्ययोजनासम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। समितिका विशिष्ट कार्य निर्देशक बाबुराम उपाध्यायले गुरुयोजनाअनुसार निर्माण भएका संरचना, हालसम्मका उपलब्धि तथा आगामी तीन वर्षमा सम्पन्न गरिने योजनाबारे जानकारी गराए।

ऐतिहासिक महत्व बोकेको गणेशधाममा वि.सं. २०१३ सालमा सालको रूखको फेदमा ढुंगाको गणेश मूर्ति स्थापना गरी पूजा सुरु गरिएको जनविश्वास छ। पाल्पाका राजा मणिमुकुन्द सेनले यहाँ निर्माण गरेको भनिएको प्राचीन इनार अझै मन्दिर परिसरमा सुरक्षित रहेको छ।

कार्ययोजनाअनुसार पुण्यवती ताल निर्माण सम्पन्न गर्ने, दैनिक आरती सञ्चालन गर्ने, अक्षयकोष स्थापना गर्ने, गणेश भगवानका १२ स्वरूपका मूर्ति स्थापना गर्ने, धाम परिसरलाई हरियाली तथा पर्यटकमैत्री बनाउने र पुरानो इनारलाई प्राचीन शैलीमै संरक्षण गर्ने योजना अघि सारिएको छ।

पूर्वमन्त्री विजय सुवेदीको संरक्षण र नेतृत्वदायी भूमिकामा अघि बढाइएको यो योजनाले गणेशधामलाई धार्मिक पर्यटनको नयाँ पहिचान दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij