काठमाडौँ : नेकपा (एमाले)का केन्द्रीय सदस्य महेश बर्तौलाले पार्टीको वैधानिक संरचनाबाट भएका फैसलाहरुलाई अस्वीकार गर्न नमिल्ने भन्दै महाधिवेशनमार्फत निर्वाचित नेतृत्वको विषयमा विवाद सिर्जना गर्नुको औचित्य नरहेको टिप्पणी गरेका छन्।
बिहीवार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले यस्तो टिप्पणी गरेका हुन्। उनले पार्टीको नेतृत्व ११औँ महाधिवेशनबाट स्थापित वैधानिक प्रक्रियाअनुसार नै अघि बढ्ने बताए।
उनले नेतृत्व चयन पार्टीको स्थापित वैधानिक संरचना, विधि र अभ्यासअनुसार हुने भन्दै महाधिवेशनबाट भएका निर्णयलाई व्यक्तिगत चाहना वा असन्तुष्टिका आधारमा मान्दिनँ भन्न नपाइने बताए।
उनले पार्टीभित्र देखिएका अन्तरविरोधहरू हटाएर केपी शर्मा ओलीको नेतृत्वमा पार्टीलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको समेत बताए।
कसैको व्यक्तिगत इच्छाअनुसार पार्टीले कुनै निर्णय नगर्ने उनको भनाइ छ। यद्यपि निर्वाचनमा अनपेक्षित नतिजा कसरी आयो भन्ने विषयमा आवश्यक छलफल र समीक्षा गर्न सकिने बर्तौलाको भनाइ छ।
नेतृत्वको आलोचना गरेर लोकप्रिय बन्न सकिन्छ भन्ने मनसायले पार्टीका केही पदाधिकारीहरु उद्वेलित भइरहेको उनको आरोप छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij