Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

रास्वपाको पहिलो जिल्ला अधिवेशन आज चितवनमा, नयाँ नेतृत्व चयन हुँदै

रास्वपाको पहिलो जिल्ला अधिवेशन आज चितवनमा, नयाँ नेतृत्व चयन हुँदै

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज देशभरका २८ जिल्लामा पहिलो जिल्ला अधिवेशन आयोजना गर्दैछ। पार्टीलाई तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संगठनमा रूपान्तरण गर्ने अभियानअन्तर्गत अधिवेशन हुन लागेको हो। रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार कोशी प्रदेशका चार, मधेश प्रदेशका चार, बागमती प्रदेशका दुई, गण्डकी प्रदेशका चार, लुम्बिनी प्रदेशका तीन, कर्णाली प्रदेशका छ तथा सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एकैसाथ अधिवेशन हुँदैछ।

आज उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम पश्चिम, मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन सञ्चालन हुने आयोगले जनाएको छ। अधिवेशनलाई निष्पक्ष र व्यवस्थित बनाउन प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको छ। यसअघि शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र ती जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको आयोगले जनाएको छ।

रास्वपाले जिल्ला अधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्ने महत्वपूर्ण चरणका रूपमा लिएको छ। आयोगले अधिवेशनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सम्पूर्ण नेता–कार्यकर्ता तथा सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ। विशेष संगठनात्मक परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन भने जेठ २६ गते हुने तय गरिएको छ। पार्टीले पहिलो राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ भने बाँकी १० जिल्लाको अधिवेशन महाधिवेशनपछि गरिने जनाएको छ।

यसैबीच, रास्वपाको प्रदेश अधिवेशन आगामी जेठ २६ गतेदेखि सुरु हुने भएको छ। सातै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरी तयारी तीव्र पारिएको छ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij