चितवन : पूर्वी चितवनको रत्ननगर नगरपालिकाको सौराहा चोकदेखि भक्तिनी बगैँचासम्म सञ्चालन भइरहेको नाला निर्माण कार्यका क्रममा मुख्य खानेपानी पाइपलाइनमा क्षति पुगेपछि स्थानीयवासी मर्कामा परेका छन्। निर्माण कार्यमा आवश्यक सावधानी नअपनाउँदा पाइपलाइन फुटेको भन्दै स्थानीयले गुनासो गरेका छन्।
घटनाबारे जानकारी प्राप्त हुनासाथ रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव प्रताप डल्लाकोटी तत्काल फिल्डमा पुगेर क्षतिको निरीक्षण गरेका थिए। उनले सम्बन्धित निर्माण पक्षलाई तुरुन्त मर्मत कार्य अघि बढाउन निर्देशन दिँदै जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खानेपानी प्रणालीमा लापरबाही नगर्न कडा चेतावनी दिएका छन्।
“खानेपानी नागरिकको आधारभूत आवश्यकता हो । विकास निर्माणका काम गर्दा जनताको स्वास्थ्यमा असर पर्ने गरी काम गर्नु हुँदैन,” सचिव डल्लाकोटीले भने। उनले पाइपलाइन फुट्दा खानेपानी दूषित हुने जोखिमसमेत बढ्ने भएकाले यस्ता काममा विशेष सावधानी अपनाउनुपर्ने बताए।
नाला खन्ने क्रममा पाइपलाइनमा क्षति पुगेपछि उक्त क्षेत्रका बासिन्दाले सहज रूपमा खानेपानी उपभोग गर्न नसकेको बताएका छन्। विशेषगरी अत्यधिक गर्मी बढिरहेका बेला पानी आपूर्ति प्रभावित हुँदा दैनिक जीवन नै कठिन बनेको स्थानीयको गुनासो छ। कतिपय घरपरिवारले वैकल्पिक स्रोतको खोजी गर्न बाध्य भएको बताएका छन्।
स्थानीयवासीले विकास निर्माणका काममा सम्बन्धित निकायबीच समन्वय अभाव हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको बताएका छन्। उनीहरूले निर्माण कार्यलाई व्यवस्थित र जिम्मेवार ढंगले सञ्चालन गर्न माग गरेका छन्। यसैबीच, खानेपानी संस्थाले पाइपलाइन मर्मत कार्यलाई तीव्र बनाइएको जनाएको छ। क्षतिग्रस्त पाइपलाइन छिट्टै मर्मत गरी नियमित खानेपानी आपूर्ति सुचारु गरिने संस्थाले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij