भरतपुर : चितवन उद्योग वाणिज्य संघ को आयोजनामा महिला उद्यमीलाई स्वरोजगार तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको तीनदिने साबुन बनाउने तालिम सम्पन्न भएको छ । “सीप नै आत्मनिर्भरताको पहिलो पाइला हो” भन्ने नारासहित आयोजित तालिममा सहभागी महिलाहरूलाई सिपमूलक ज्ञान हस्तान्तरण गर्दै उद्यमशीलता विकासतर्फ प्रेरित गरिएको संघले जनाएको छ ।
तालिमको उद्घाटन तथा समापन कार्यक्रममा बोल्दै संघका अध्यक्ष चिरञ्जीवी सुवेदी ले यस्ता तालिमले महिलाहरूलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले सिकेको सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक रूपमा अघि बढ्न सहभागीहरूलाई आग्रह गरे ।
“सीप सिकेर मात्रै हुँदैन, त्यसलाई आयआर्जनसँग जोड्न सक्नुपर्छ,” अध्यक्ष सुवेदीले भने, “महिलाहरू उद्यमशील बन्न सके परिवारसँगै समाज पनि आर्थिक रूपमा सबल बन्छ ।” कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली ले हातमा सीप हुने व्यक्ति कहिल्यै बेरोजगार वा भोकै बस्न नपर्ने उल्लेख गर्दै सीपले आत्मविश्वास र आत्मनिर्भरता दुवै बढाउने बताए ।
प्रशिक्षार्थीहरूको तर्फबाट मन्तव्य राख्दै गीता कुमारी न्यौपाने ले महिला उद्यमशीलता विकासमा संघले खेलेको भूमिकाको प्रशंसा गर्दै आयोजकप्रति आभार व्यक्त गरिन् । जेठ ६ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको तालिममा केजिए सोप इण्डष्ट्रिज की सञ्चालक कमला अधिकारी ले प्रशिक्षण दिएकी थिइन् । तालिममा ४५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा संघका कार्यसमिति सदस्य एवं तालिम संयोजक विष्णु लम्साल, कार्यकारी निर्देशक निलबहादुर के.सी, कार्यसमिति सदस्यहरू श्रीकृष्ण लम्साल, अस्मिता तिमिल्सिना, कृष्णकुमार महतो तथा सुरेशकुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संघका कार्यक्रम अधिकृत गणेश सुवेदी ले गरेका थिए ।