Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कोटिहोम महायज्ञमा भजन किर्तन

कोटिहोम महायज्ञमा भजन किर्तन

भरतपुर : आँपटारीस्थित वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा विभिन्न समूहरुले भजन किर्तन गर्दै आएका छन् । बिहीबार दमौलीबाट आएको व्यास ज्योती भजन किर्तन समूहले भजन किर्तन गरेको थियो । त्यस्तै, बुटवलबाट आएकी बालिका दीक्षा भण्डारीले प्रवचन गरिन् भने भरतपुर–२ निवासी महेश पोदारले नगद २१ हजार १११ र भरतपुर–११ विशालचोक निवासी रनमाया क्षेत्रीले नगद १० हजार १०० रुपैयाँ महायज्ञलाई दान गरे ।

महायज्ञमा हरेक दिन बिहान ८ बजेदेखि नै भजन किर्तन हुँदै आएको महायज्ञका संयोजक प्रेमनीधि भारद्धाजले जानकारी दिए । गत बैशाख १७ गतेदेखि सुरु भएको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ आगामी असार १३ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञलाई सफल बनाउन नेपालबाट मात्र नभई विदेशमा बस्ने नेपालीहरुले समेत आर्थिक सहयोग गरेका छन् ।

महायज्ञमा प्रमुख वाचक ज्योतिष पण्डित परशुराम पाण्डेयले दैनिक भागवत कथा वाचन गरिरहेका छन् । महायज्ञमा नियमित हवन, गायत्री मन्त्रद्वारा लक्ष हवन, अति रुद्री, सहस्र चण्डी, वेदपाठ र भागवत पाठ परायण भइरहेको छ । वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम र सनातन सांस्कृतिक सम्पदा संरक्षण संघको संयुक्त आयोजनामा महायज्ञ सञ्चालन भएको हो ।

महायज्ञमा नौ वर्षमुनिका एक हजार आठ बालिकाहरुको सामुहिक पूजा गरिने छ । पुरुषोत्तम महात्म्य प्रवचन, हिमवत् खण्ड, शिखरिणी यात्रा लगायतका धार्मिक ग्रन्थहरुको पाठपरायण, गौकथा प्रवचन हुनेछ भने पाँचसरे सवा करोड दीप प्रज्वलन गरिने छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij