Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनको कोटिहोम महायज्ञमा धार्मिक उत्साह बढ्दो, भागवत कथा सुन्न हजारौँ भक्तजनको उपस्थिति

चितवनको कोटिहोम महायज्ञमा धार्मिक उत्साह बढ्दो, भागवत कथा सुन्न हजारौँ भक्तजनको उपस्थिति

चितवन : वागीश्वरी आध्यात्मिक परिषद् अन्तर्गत योगी नरहरिनाथ आश्रममा जारी श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञमा शनिबार भक्तजनको उत्साहजनक सहभागिता देखिएको छ । बिहानैदेखि भागवत कथा श्रवण गर्न, हवनमा सहभागी हुन तथा संगीतमय शैलीमा भजनकिर्तन गर्न श्रद्धालुहरुको ठूलो भीड लागेको आयोजकले जनाएको छ ।

महायज्ञ सुरु भएयताकै सबैभन्दा धेरै भक्तजन शनिबार उपस्थित भएको आश्रमले जानकारी दिएको छ । आश्रम परिसर दिनभर धार्मिक वातावरणले भरिएको थियो भने कथा, प्रवचन र भजनकिर्तनले माहोल थप आध्यात्मिक बनेको देखिन्थ्यो ।

महायज्ञमा गोरक्ष बिज मन्त्रद्वारा नियमित हवन भइरहेको छ । विभिन्न कारणले बितेका गाईहरुको मोक्षको कामना गर्दै शुक्रबार विशेष रुद्री पूजा गरिएको थियो । आश्रमको गौशालामा स्थानीय जातका गाईहरुको संरक्षण गरिँदै आएको छ । धार्मिक परम्पराअनुसार गर्नुपर्ने काजकिरिया विगतमा हुन नसकेपछि महायज्ञमार्फत विशेष पूजा गरिएको जनाइएको छ ।

वैशाख १७ गतेदेखि सुरु भएको महायज्ञमा आर्थिक सहयोग, चरु, फलफूल तथा तरकारी सहयोग गर्ने भक्तजन र मनकारीहरुको संख्या पनि बढ्दै गएको छ । सामाजिक तथा धार्मिक व्यक्तित्वसँगै विभिन्न संघसंस्थाहरुले समेत महायज्ञलाई सहयोग गरिरहेको महायज्ञका संयोजक एवम् मूलकर्ता प्रेमनिधि भारद्वाजले बताए ।

महायज्ञमा प्रमुख वाचकका रुपमा ज्योतिष पण्डित परशुराम पाण्डेयले भागवत कथा वाचन गरिरहेका छन् । राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पमा सञ्चालन भइरहेको यो १३०औँ महायज्ञ आगामी असार १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

महायज्ञअन्तर्गत नियमित हवन, गायत्री मन्त्रद्वारा लक्ष हवन, अति रुद्री, सहस्र चण्डी, वेदपाठ तथा भागवत पाठ परायण भइरहेको छ । वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम र सनातन सांस्कृतिक सम्पदा संरक्षण संघको संयुक्त आयोजनामा महायज्ञ सञ्चालन भइरहेको हो ।

यसैबीच, महायज्ञमा नौ वर्षमुनिका ए क हजार आठ बालिकाहरुको सामूहिक पूजा, पुरुषोत्तम महात्म्य प्रवचन, हिमवत् खण्ड तथा शिखरिणी यात्रासम्बन्धी धार्मिक ग्रन्थहरुको पाठपरायण, गौकथा प्रवचन र पाँचसरे सवा करोड दीप प्रज्वलनजस्ता विशेष धार्मिक कार्यक्रम समेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।

 
 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij