Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पवित्र अधिक मास आजबाट सुरु जेठ ३० सम्म के गर्ने, के नगर्ने?

पवित्र अधिक मास आजबाट सुरु जेठ ३० सम्म के गर्ने, के नगर्ने?

काठमाडौं : हिन्दू पंचांग र ज्योतिषशास्त्रमा विशेष महत्त्व बोकेको 'अधिक मास' (मलमास वा पुरुषोत्तम मास) आजदेखि सुरु भएको छ। आगामी जेठ ३० गतेसम्म रहने यस विशेष अवधिमा हिन्दू धर्मालम्बीहरू पूजापाठ, भगवद् भक्ति, व्रत, जप, तप र योग जस्ता आध्यात्मिक कार्यहरूमा लीन हुने गर्दछन्।

धार्मिक शास्त्र र परम्परागत मान्यता अनुसार यस समयमा निष्काम भावले गरिएको कुनै पनि धार्मिक कार्य अन्य सामान्य महिनाहरूमा गरिएको पूजापाठ वा अनुष्ठानभन्दा दश गुणा बढी फलदायी र पुण्यदायी हुने गर्दछ। यो महिना आध्यात्मिक रूपमा अत्यन्तै पवित्र मानिए पनि यस अवधिमा गरिने विवाह, व्रतबन्ध, गृह प्रवेश जस्ता लौकिक तथा शुभ मांगलिक कार्यहरूमा भने पूर्ण रूपमा बन्देज रहने गर्दछ। धर्मशास्त्रविद्हरूका अनुसार बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने भनिएका सम्पूर्ण कर्महरू मलमासमा पनि गर्नुहुँदैन।

नवविवाहित जोडीले किन बार्नुपर्छ?

विशेष गरी नवविवाहित श्रीमान्–श्रीमतीले मलमासलाई छल्नुपर्छ (एउटै घरमा बस्नुहुँदैन) भन्ने सामाजिक एवं धार्मिक परम्परा रहेको छ। यो परम्परा मलमासको अवधिमा 'गर्भाधान गर्नुहुँदैन' भन्ने शास्त्रीय मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ।

वैज्ञानिक र खगोलीय कारण

खगोलीय दृष्टिकोणले हेर्ने हो भने, सूर्य र चन्द्रमाको गतिमा हुने भिन्नता नै अधिक मास लाग्नुको मुख्य कारण हो। सूर्यको गतिमा आधारित सौर वर्ष ३६५ दिनको हुन्छ भने चन्द्रमाको गतिमा आधारित चन्द्र वर्ष ३५४ दिनको हुन्छ। यसरी सौर र चन्द्र वर्षको बीचमा प्रत्येक वर्ष झण्डै ११ दिनको फरक पर्छ र यो अन्तर हरेक ३२ महिना १६ दिन र ४ घडीमा बढेर पूरा एक महिना (३० दिन) बराबर पुग्दछ। यही समयको अन्तरलाई सन्तुलनमा राख्न पंचांगमा एउटा अतिरिक्त महिना थपिने गरिन्छ, जसलाई हामी मलमास वा अधिक मास भन्दछौँ। यदि यो वैज्ञानिक व्यवस्था नगरिएको भए हिन्दूहरूका मुख्य चाडपर्वहरू हरेक वर्ष १० दिन पछि सर्दै जाने थिए र मौसम अनुसार पर्वहरूको तालमेल पुरै बिग्रिने थियो।

'पुरुषोत्तम मास' को पौराणिक कथा

धार्मिक तथा पौराणिक मान्यता अनुसार, महिनाहरूको नाम र स्वामित्व बाँडफाँड भइरहेका बेला सबैले मलमासलाई अपवित्र मानेर यसको निन्दा गरे। यसबाट दुखी भएको मलमासले भगवान विष्णुसमक्ष आफ्नो पीडा राखेपछि श्रीहरिले यस महिनालाई आफ्नो नाम 'पुरुषोत्तम मास' दिनुभयो र यसको स्वामी स्वयं आफू रहने घोषणा गर्नुभयो। भगवानले यस महिनामा गरिने भौतिक सुखका कार्यहरू फलदायी नभए पनि निष्काम भावले गरिने धार्मिक, आध्यात्मिक र परोपकारी कार्यहरूले अन्य महिनाको तुलनामा कयौँ गुणा बढी पुण्य दिने वरदान दिनुभएको थियो।

मलमासमा के गर्ने?

धार्मिक दृष्टिकोणले यो ३० दिनको अवधि आध्यात्मिक साधनाका लागि सर्वश्रेष्ठ मानिन्छ। यस अवधिमा भगवान सत्यनारायण की पूजा, 'ॐ नमो भगवते वासुदेवाय' मन्त्रको जप, श्रीमद्भागवत गीताको १४ौँ अध्यायको नियमित पाठ र घरमा शालिग्राम भगवानको अगाडि दैनिक घिउको दीपक प्रज्वलन गर्नाले कार्यक्षेत्रका बाधा अड्चनहरू हटेर सुख-समृद्धि मिल्ने विश्वास गरिन्छ।

साथै ग्रहदोष शान्तिका लागि घरमै महामृत्युञ्जय मन्त्रको जप गर्नु पनि उत्तम हुन्छ। लगभग तीन वर्षको अन्तरालमा आउने यो महापर्वमा असहाय, वृद्ध र गरिबहरूलाई अन्न, धन, कपडा वा छाता दान गर्नाले तथा शिवालयहरूमा चन्दन, बेलपत्र र घिउ चढाउनाले जन्म-जन्मान्तरसम्म पुण्य प्राप्त हुने शास्त्रहरूमा उल्लेख छ।

मत्स्यनारायण मन्दिरको विशेष महत्त्व

अधिक मासको सन्दर्भमा काठमाडौँको कीर्तिपुरको सिमानामा पर्ने ऐतिहासिक मत्स्यनारायण (मच्छेनारायण) मन्दिरको विशेष महत्त्व रहेको छ। रत्नपार्कबाट करिब आठ किलोमिटर दक्षिण-पश्चिम र कीर्तिपुरबाट चार किलोमिटर दक्षिणमा पर्ने यस मन्दिरमा मलमासको अवधिभर महिना दिन लामो भव्य मेला लाग्ने गर्दछ।

सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार रहेको यस मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो तथा चारवटा हातमा शङ्ख, चक्र, गदा र पद्म लिएको भगवान् विष्णु (मत्स्यनारायण) को दुर्लभ प्रस्तर मूर्ति रहेको छ। मलमासभरि यहाँ नारायणको विशेष पूजा र पुरुषोत्तम माहात्म्य वाचन सुन्न टाढा-टाढाबाट लाखौँ भक्तजनहरू आउने गर्दछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij