Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनमा दोस्रो ऐतिहासिक रक्तदान महोत्सव आयोजना हुँदै

चितवनमा दोस्रो ऐतिहासिक रक्तदान महोत्सव आयोजना हुँदै

चितवन : ब्लड डोनर्स सोसाइटी नेपाल चितवन जिल्ला शाखाले दोस्रो ऐतिहासिक रक्तदान महोत्सव आयोजना गर्ने निर्णय गरेको छ । हालै बसेको जिल्ला शाखाको बैठकले महोत्सवलाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सम्पन्न गर्ने लक्ष्यसहित तयारी अघि बढाएको हो ।

बैठकले चितवन जिल्ला शाखाका अध्यक्ष एकराज बुर्लाकोटीलाई महोत्सवको मूल संयोजकको जिम्मेवारी प्रदान गरेको छ । साथै, महोत्सव सफल बनाउन ९ सदस्यीय स्टेरिङ समिति समेत गठन गरिएको छ ।

समितिमा संस्थापक अध्यक्ष अर्जुन अधिकारी, केन्द्रीय अध्यक्ष अन्जन दवाडी, रक्तभियन्ता राजेन्द्र प्रसाद पौडेल, मनरुपा पौडेल, बालचन्द्र पोखरेल, नारायण शर्मा, रामचन्द्र लम्साल तथा राज सिल्वाल सदस्य रहेका छन् ।

आयोजकका अनुसार महोत्सवको मुख्य उद्देश्य रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नु, नयाँ रक्तदाता उत्पादन गर्नु तथा समाजमा मानवीय सेवाको भावना विस्तार गर्नु रहेको छ । साथै, रक्तदानमार्फत बिरामीहरूको जीवन रक्षामा योगदान पुर्‍याउने र युवापुस्तालाई सामाजिक सेवामा प्रेरित गर्ने लक्ष्य लिइएको छ ।

विश्व रक्तदाता दिवसको अवसर पारेर यही जेठ ३० गते महोत्सव आयोजना गरिने भएको छ । कार्यक्रममा रक्तदाताहरूको उत्साहजनक सहभागिता गराउन विभिन्न आकर्षक उपहारको व्यवस्था गरिएको छ भने गोलाप्रथा मार्फत विशेष उपहार प्रदान गरिने आयोजकले जनाएको छ ।

ब्लड डोनर्स सोसाइटी चितवनले सम्पूर्ण रक्तदाता, युवा तथा सर्वसाधारणलाई महोत्सवमा सहभागी भई मानव सेवाको अभियानमा साथ दिन आग्रह गरेको छ ।

 
 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij