Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

देवघाटको विद्युतीय शवदाह गृह परीक्षणमै समस्या, नियमित सञ्चालन अनिश्चित

देवघाटको विद्युतीय शवदाह गृह परीक्षणमै समस्या, नियमित सञ्चालन अनिश्चित

चितवन : पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको विद्युतीय शवदाह गृह परीक्षणका क्रममा प्राविधिक समस्या देखिएपछि नियमित सञ्चालनमा ल्याउन सकिएको छैन।

गत असोज २४ गते सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले निर्माण सम्पन्न गरी शवदाह गृह भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको थियो।

महानगरपालिकाका विपद् शाखा प्रमुख बालकृष्ण थपलियाका अनुसार परीक्षणका क्रममा शव दहन प्रक्रियामा असमानता देखिएको छ। “कतिपय शव एक घण्टामा दहन भए भने कतिपय आठ–नौ घण्टासम्म पनि पूर्ण रूपमा दहन हुन सकेन,” उनले बताए।

समस्याका कारण लामो समय शव राख्दा असन्तुष्टि बढ्दै जाँदा तोडफोडसमेत भएको थियो। त्यसपछि मर्मतका लागि बन्द गरिएको शवदाह गृह हालसम्म सञ्चालनमा आउन सकेको छैन।

महानगरले १६ जना ‘स्वीपर’ लाई शव दहनसम्बन्धी तालिम दिएको भए पनि आवश्यक प्राविधिक दक्ष जनशक्ति अभावका कारण प्रभावकारी सञ्चालनमा कठिनाइ देखिएको छ।

विपद् शाखाका अनुसार उपकरण सञ्चालनका लागि दक्ष प्राविधिक जनशक्ति आवश्यक पर्ने भए पनि त्यस्तो जनशक्ति व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ। साथै, चौबिसै घण्टा सञ्चालन गर्दा लागत बढी हुने, धुवाँले आसपासका बस्तीमा असर पर्ने लगायत समस्या पनि देखिएका छन्।

महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार शवदाह गृह सञ्चालनका लागि बोलपत्र आह्वान गरिएको छ। एक निजी संस्थाले प्रस्ताव पेस गरेको भए पनि अन्तिम निर्णय हुन बाँकी छ।

विसं २०७५ माघ ३ गते निर्माण सुरु भएको यो शवदाह गृह पटक–पटक म्याद थपपछि सम्पन्न गरिएको हो। करिब रु ११ करोड २१ लाख लागतमा निर्माण गरिएको यसमा दुईवटा शवदाह उपकरण र चार शव राख्न मिल्ने फ्रिज सुविधा रहेको छ।

देवघाटमा चितवन, नवलपरासी, तनहुँ लगायत विभिन्न जिल्लाबाट शवदाहका लागि ल्याइने गरिन्छ। सञ्चालनमा आएमा दाउराको अभाव, वर्षायामको समस्या र बेवारिसे शव व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij