भरतपुर : चितवन जिल्लाको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ३ हजार ६३५ विद्यार्थी ‘ननग्रेडेड’ भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ भरतपुरका अनुसार साधारण धारतर्फ ३ हजार ५२९, प्राविधिक धारतर्फ १०६ तथा खुलातर्फ परीक्षा दिएका चारै जना विद्यार्थी ननग्रेडेडमा परेका हुन् ।
जिल्लाभर साधारणतर्फ ६ हजार ८७१ र प्राविधिकतर्फ ११० जना विद्यार्थी ग्रेडेड भएका छन् । यस वर्ष चितवनका संस्थागत र सामुदायिक गरी २३७ विद्यालयबाट १० हजार ६१६ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए ।
शिक्षाविद् रमाकान्त सापकोटाले ननग्रेडेड विद्यार्थीको संख्या बढ्नुलाई अत्यधिक चिन्ताको विषय मान्न नहुने बताए । उनका अनुसार धेरै विद्यार्थी एक वा दुई विषयमा कमजोर हुँदा ननग्रेडेड भएका हुन् । उनले मौका परीक्षापछि आउने नतिजालाई वास्तविक सिकाइ उपलब्धिका रूपमा हेर्नुपर्ने बताए ।
यस वर्ष चितवनका केही सामुदायिक विद्यालयले उल्लेखनीय सुधार गरेका छन् । नारायणी नमुना माध्यमिक विद्यालय भरतपुरले ३७ जना विद्यार्थीलाई ४ जीपीए दिलाउँदै उत्कृष्ट नतिजा कायम गरेको छ ।
यस्तै, कमजोर नतिजाबाट सुधारतर्फ उक्लिएका विद्यालयमा चितवन माध्यमिक विद्यालय भरतपुर, सीताराम संस्कृत मावि देवघाट र कठार मावि कठार रहेका छन् । चितवन माविले ८०.९५ प्रतिशत, सीताराम संस्कृत माविले ८१.८२ प्रतिशत र कठार माविले ८२.८६ प्रतिशत विद्यार्थी ग्रेडेड गराउन सफल भएका छन् ।
चितवनका खैरहनी, राप्ती, माडी र कालिका नगरपालिकामा कुनै पनि विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सकेनन् ।
रत्ननगर नगरपालिकाको कपरफोरी मावि, भरतपुर महानगरपालिका–१८ को न्यू चित्रवन, देवघाटस्थित रामजानकी गाग्री कन्या गुरुकुलम तथा इच्छाकामना गाउँपालिकाको प्रगति पाठशाला कुरिनटारले भने शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन् । कपरफोरी मावि सामुदायिकतर्फ शतप्रतिशत नतिजा ल्याउने जिल्लाकै एकमात्र विद्यालय बनेको छ ।
यस वर्ष चितवनमा ७३ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । तीमध्ये ३७ जना नारायणी नमुना माविका विद्यार्थी रहेका छन् । विद्यालयले एकै संस्थाबाट यति धेरै विद्यार्थीले ४ जीपीए ल्याएको दाबी गर्दै यसलाई राष्ट्रिय स्तरकै उपलब्धि भनेको छ ।
गत वर्ष चितवनमा ३७ जनाले ४ जीपीए ल्याएका थिए भने २०८० मा १६, २०७९ मा ६ र २०७८ मा दुई जनाले मात्रै ४ जीपीए ल्याएका थिए ।
शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लक्ष्मण देवकोटाले ४ जीपीए ल्याउने विद्यार्थीको संख्या बढ्नु सकारात्मक भए पनि संस्थागत शैक्षिक क्षमतामा अझ सुधार आवश्यक रहेको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij