जनकपुरधाम : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले निजी विद्यालय बन्द हुने हल्लामा कुनै सत्यता नरहेको बताएका छन् । उनले निजी विद्यालयलाई सरकारले शिक्षा क्षेत्रको सहयोगी साझेदारका रूपमा हेरेको बताए।बुधबार जनकपुरधाममा आयोजित छलफल कार्यक्रममा जनकपुर क्षेत्रका निजी विद्यालय सञ्चालकहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुअघि नै निजी विद्यालय बन्द गर्ने भन्ने हल्ला फैलाइएकोमा दुःख व्यक्त गरे।
उनले कानुन अनुसार निजी विद्यालयहरूले अनिवार्य रूपमा १० प्रतिशत छात्रवृत्ति पारदर्शी ढङ्गले उपलब्ध गराउनुपर्ने बताउँदै ऐन–कानुन इमानदारीपूर्वक पालना गर्न आग्रह गरे ।
साथै पाठ्यक्रममा एकरूपता ल्याउन व्यापक सुधार आवश्यक रहेको बताए । छलफलका क्रममा निजी विद्यालय सञ्चालकहरूले संस्थागत विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूले चिकित्सा आयोग लगायत सरकारी निकायबाट प्रदान गरिने छात्रवृत्तिमा समान अवसर पाउनुपर्ने विषय उठाएका थिए।
यसबारे मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई प्राथमिकता दिनु स्वाभाविक भए पनि सरकारले चिकित्सा शिक्षा ऐनमा व्यापक संशोधन गर्ने तयारी गरिरहेको जानकारी दिए।
दुई दिनको सार्वजनिक बिदाले विद्यार्थी र शिक्षकलाई थप उत्पादनशील बनाउने अनुभव केही देशमा देखिएको बताउँदै पठनपाठनमा असर नपर्ने गरी वर्षे बिदा ४५ दिनबाट घटाएर ३० दिन बनाइएको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij