Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

४ जिपिए ल्याउने तेजस्वीलाई गैंडाकोट इङ्लिस स्कुलले दिने भयो १ लाख पुरस्कार

४ जिपिए ल्याउने तेजस्वीलाई गैंडाकोट इङ्लिस स्कुलले दिने भयो १ लाख पुरस्कार

गैंडाकोट:  एसईई परीक्षामा ४.०० जिपिए ल्याउने विद्यार्थीलाई १ लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको गैंडाकोट इङ्लिस स्कुलको निर्णयलाई छात्रा तेजस्वी पन्तले वास्तविकतामा परिणत गरेकी छन् । यस वर्षको एसईई परीक्षामा तेजस्वीले उत्कृष्ट नतिजासहित ४.०० जिपिए हासिल गरेपछि विद्यालयले घोषणा अनुरूप उनलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने भएको हो । विद्यालयले तेजस्वीको मेहनत, लगनशीलता र आत्मविश्वासको प्रशंसा गर्दै उनको उपलब्धिले विद्यालयसँगै समग्र गैँडाकोट क्षेत्रकै शैक्षिक गौरव बढाएको जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक हीरालाल अर्यालका अनुसार तेजस्वीको सफलता अन्य विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ ।

यस वर्ष विद्यालयले एसईई परीक्षामा समग्र रूपमा पनि उत्कृष्ट नतिजा हासिल गरेको जनाएको छ । विद्यालयबाट सहभागी ६० जना विद्यार्थीमध्ये २५ जनाले ३.६१ देखि ४.०० जिपिए ल्याउँदै ए प्लस ग्रेड प्राप्त गरेका छन्, जुन कुल विद्यार्थी संख्याको ४२ प्रतिशत हो ।

त्यस्तै, २३ जना विद्यार्थीले ३.२१ देखि ३.६० जिपिए ल्याएर ए ग्रेड प्राप्त गरेका छन् । समग्रमा विद्यालयका ८० प्रतिशत विद्यार्थीले ए ग्रेडभन्दा माथिको नतिजा हासिल गरेका छन् । साथै, ११ जना विद्यार्थीले २.८० देखि ३.२० जिपिए प्राप्त गरेका छन् ।

विद्यालयका प्राचार्य हीरालाल अर्यालले विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त मेहनतका कारण विद्यालयले ऐतिहासिक सफलता हासिल गरेको बताए । उनले विद्यालयले आधुनिक शिक्षण पद्धति, प्रविधिमैत्री अध्ययन प्रणाली, अनुशासन र अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

उत्कृष्ट नतिजासँगै गैंडाकोट इङ्लिस स्कुल नवलपुर क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा थप स्थापित बन्दै गएको अभिभावकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij