चितवन : चितवन राष्ट्रिय निकुञ्ज लगायत नेपालका संरक्षित क्षेत्रमा पाइने दुर्लभ एकसिंगे गैँडाको गणना यस वर्ष पनि नहुने भएको छ। बजेट अभावका कारण गत वर्ष रोकिएको गणना यस पटक बाघ गणनासँग समय जुधेपछि फेरि स्थगित गरिएको हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक चार वर्षमा गर्दै आएको गैँडा गणना अब अर्को वर्ष मात्रै गर्ने तयारी गरेको जनाएको छ। विभागका अनुसार बर्खायाम सुरु भइसकेकाले फिल्डमा खटिएर गणना गर्न कठिन हुने भएकाले काम तत्काल सम्भव छैन।
यसपटक गैँडाको गणना परम्परागत प्रत्यक्ष अवलोकन विधिबाट नभई आनुवंशिक अर्थात् ‘जेनेटिक’ प्रविधिबाट गर्ने तयारी गरिएको छ। यस विधिमा गैँडाको गोबर सङ्कलन गरी प्रयोगशालामा डिएनए परीक्षणमार्फत सङ्ख्या र लिङ्ग पहिचान गरिन्छ। प्रत्येक गैँडाको ‘जेनेटिक स्ट्रक्चर’ फरक हुने भएकाले वैज्ञानिक रूपमा बढी विश्वसनीय मानिने विभागको भनाइ छ।
विभागको वन्यजन्तु सर्वेक्षणसम्बन्धी प्राविधिक समितिले गणनाका लागि आवश्यक ‘प्रोटोकल’ तयार गर्ने निर्णय गरिसकेको छ। समितिका संयोजक तथा विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य का अनुसार प्रोटोकल निर्माणका लागि छलफल सुरु भइसकेको छ।
गैँडाले प्रायः एउटै स्थानमा दिसा गर्ने भएकाले ती क्षेत्र पहिचान गरी सिसी क्यामरा जडान गरेर पटक–पटक गोबर सङ्कलन गरिनेछ। चितवन राष्ट्रिय निकुञ्जको विशाल क्षेत्रफललाई ध्यानमा राख्दै कति भूभागबाट नमुना सङ्कलन गर्ने भन्ने विषय पनि प्रोटोकलमार्फत निर्धारण गरिने विभागले जनाएको छ।
नेपालका बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज मा प्रत्यक्ष अवलोकनबाट गैँडा गणना सम्भव भए पनि आनुवंशिक विधि भने मुख्य रूपमा चितवनमा प्रयोग गरिनेछ।
विभागका अनुसार यो विधि विगतको प्रत्यक्ष गणना प्रणालीभन्दा कम खर्चिलो, सुरक्षित र वैज्ञानिक हुनेछ। सन् २०२१ मा गरिएको गणनामा करिब तीन करोड रुपैयाँ खर्च भएको थियो। त्यतिबेला एक प्राविधिक हात्तीबाट लडेर गम्भीर घाइतेसमेत भएका थिए।
यसअघि नेपालमा आनुवंशिक विधिबाट हिउँ चितुवा को मात्रै गणना हुँदै आएको थियो। सन् २०२१ मा गरिएको पछिल्लो गणनाअनुसार नेपालभर ७५२ वटा एकसिंगे गैँडा रहेका थिए। तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैँडा भेटिएका थिए। त्यसैगरी बर्दियामा ३८ र शुक्लाफाँटामा १८ गैँडा गणना गरिएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij