काठमाडौंः संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल बार एसोसिएसनको बैठक आज बस्दै छ। बारले प्रधानन्यायाधीशमा भएको सिफारिसबारे समान धारणा बनाउन आजका लागि आकस्मिक बैठक बोलाएको छ।
बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाकाअनुसार बैठकमा बारका सल्लाहकार, संविधानविद्, कानुनविद् र पूर्वपदाधिकारीलाई रायका लागि छलफलमा डाकिएको छ। उनीहरूको रायपछि बारले धारणा सार्वजनिक गर्नेछ।
‘बारले शुक्रबार नै सल्लाहाकारको बैठक डाकेको छ। सल्लाहकारको राय सुझावका आधारमा के गर्ने धारणा आउँछ,’ कोइरालाले भने।
बिहीबार बसेको संवैधानिक परिषद् बैठकले बहुमत निर्णयका आधारमा चौथो वरीयतामा रहेका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।
निर्णयमा असन्तुष्टि जनाउँदै परिषद् सदस्य रहेका राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij