म्याग्दी : प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी धौलागिरि गाउँपालिका–१ गुर्जाकी डेकमाया छन्त्याल पाँच घण्टामै घर पुगिन्।
“यसअघि गाउँपालिकाको केन्द्र मुना आउन करिब नौ घण्टा पैदल र त्यहाँदेखि बेनी पुग्न थप तीन घण्टा गाडीमा यात्रा गर्नुपर्ने अवस्था थियो”, उनले भनिन्, “सडक यातायातको सुविधा भएपछि बेनीबाट बिहान ५ः०० बजे गाडी चढेर १०ः०० बजे खाना खान घरमै पुगियो ।”
पर्यटकको चहलपहल बढ्यो
म्याग्दी जिल्लाका विभिन्न ठाउँका साथै पोखरा, काठमाडौँलगायत सहरबाट गुर्जा घुम्न जानेहरु बढेका छन् । लुकेको बस्तीको रुपमा चिनिएको गुर्जामा छन्त्याल संस्कृति, जीवनशैली, खानी, हिमाल, वनस्पती, जडीबुटी, पशुगोठ, वन्यजन्तुको अवलोकन गर्न सकिन्छ ।
म्याग्दीका सबै वडा सडक सञ्जालमा जोडिए
धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको साझेदारी रहेको लुलाङ–गुर्जा सडक जिल्लाकै प्राथमिकताप्राप्त योजना भएको बताए । “चार वर्षअघि वडा नम्बर २ को महतला भिरमा अड्किएको सडकको मार्ग खोलेर खोरिया, लमसुङ, लुलाङ हुँदै गुर्जासम्म यातायातको सुविधा विस्तार गर्न सफल भएका छौँ”, उनले भने, “गुर्जासँगै धौलागिरिका सातवटै वडा मात्र नभएर म्याग्दीका छ वटा स्थानीय तहका ४५ वटै वडाहरु यातायात सञ्जालमा जोडिएका छन् ।”
लुलाङदेखि गुर्जासम्म सडकको दूरी करिब २२ किलोमिटर छ । आर्थिक वर्ष २०७९–०८० मा लुलाङदेखि सडकको मार्ग खोल्न थालिएको थियो । चालु आवमा रु एक करोड ७० लाख बजेट विनियोजन गरेको योजनामार्फत छनोट भएको ठेकेदार कम्पनी लुलु कन्ट्रक्सनले गत पुष महिनामा रु ८८ लाख ८५ हजारमा ठेक्का सम्झौता गरेको थियो ।
सडक स्तरोन्नतिको माग
यातायात व्यवसायी लुकेश रसाइलीले लुलाङ र गुर्जाको सिमाना देउराली र लत्रवाङ खण्डको सडक स्तरोन्नति गर्नुपर्ने बताए। तीन हजार मिटर उचाइमा रहेको देउराली र लत्रवाङ क्षेत्रको सडकलाई फराकिलो बनाउनुपर्ने घुम्ती, ग्रेड मिलाउन तथा ढलान र सोलिङ गर्नुपर्ने उनले बताए ।
“चिसोमा हिउँ नपग्लिदै र बर्खामा आकाशबाट पानी नपर्दै लत्रवाङ–देउराली खण्ड पार गरिसक्नुपर्छ”, उनले भने, “हिलो र चिप्लोमा सवारीसाधन उक्लन नसक्ने, फस्ने समस्याका साथै साघुरा घुम्तीमा गाडी गुडाउन जोखिम पनि उत्तिकै छ ।” गुर्जा नजिकैको कम्जाखोलामा मोटरेबल पुल बनाउन आवश्यक छ ।
हाल खोलाबाटै सवारी साधन आवतजावत गर्छन् । काठमाडाैँमा बसोबास गर्ने गुर्जावासीहरुले कम्जाखोलामा अस्थायी पुल बनाउन आर्थिक सङ्कलन अभियान चलाएका छन् । धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले चालु आवकै ठेक्काकाको बाँकी काम र प्रदेश सरकारले हस्तान्तरण गरेको रु ५० बजेटबाट अप्ठ्यारो ठाउँमा सुधार, मर्मत र स्तरोन्नति गरिने बताए ।
प्रदेश सरकारले पालिकामा पठाएको रु ५० लाख बजेटको योजना कार्यान्वयनका लागि ठेक्का सम्झौताको क्रममा रहेको छ । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माण थालेको छ ।
गुर्जा हुँदै डोल्पा जोड्ने उच्च पहाडी राजमार्गको परिकल्पना
धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले गुर्जा हुँदै कर्णाली प्रदेशको डोल्पा जोड्ने उच्च पहाडी राजमार्ग बनाउन सकेमा डोल्पा, मुगु र जुम्लाका बासिन्दालाई राजधानी काठमाडौँ पुग्न छोटो बाटो बन्ने बताए।
“गुर्जाका बासिन्दाहरु पहिला भोटमा नुन लिन र गोठ लिएर डोल्पा जान आउन प्रयोग गर्ने मार्गलाई सडक बनाउन सकेमा डोल्पाबाट ५०० किलोमिटर दूरीमै काठमाडौँ पुग्न सकिन्छ”, उनले भने, “हिमाली र उच्च पहाडी भूगोलमा पर्ने भएकाले म्याग्दीको गुर्जा हुँदै डोल्पा जोड्ने सडकलाई उच्च पहाडी मार्गको रुपमा विकास गर्न सकिन्छ ।”
वडाध्यक्ष छन्त्यालले प्रतिनिधिसभा सदस्य महाविर पुन र म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीमार्फत गुर्जा डोल्पा जोड्ने उच्च पहाडी लोकमार्गको प्रस्ताव सङ्घीय र प्रदेश सरकारसँग गरिएको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij