पोखरा : गण्डकी प्रदेश सरकारले प्रदेशका सबै मन्त्रालयमा आगलागीबाट जलेर क्षति भएका सवारी साधन र सामानहरूको लिलामी प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।सबैखाले गाडी, मोटरसाइकल, साइकल, टहरा लगायतका जलेका र काम नलाग्ने अवस्थामा रहेका सम्पूर्ण सामग्रीहरूको लिलामी गर्न लागिएको सरकारका प्रवक्ता जितबहादुर शेरचनले जानकारी दिए ।
यस्ता सामान कति छन् भन्ने विवरण अझै खुलेको छैन । प्रारम्भिक तथ्याङ्क अनुसार प्रदेशमा १ सय ३८ वटा सरकारी कार्यालय र ६१ निजी संरचनामा क्षति भएको विवरण मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसदलाई जानकारी गराएका थिए । प्रदेश भित्र ३ सय ६१ वटा दुई पाङ्ग्रे सवारी साधनमा आगजनी भएको थियो भने ७ वटा तोडफोड र ३ वटा हराएको छ ।
यस्तै, १ सय ६१ वटा चार पाङग्रे सवारी साधनमा आगजनी भएको छ भने ३१ वटा तोडफोड भएको छ । यसबाट सरकारी भवन र सवारी साधन गरी झण्डै २ अर्ब र निजी क्षेत्र तर्फ झण्डै ३ अर्बको क्षति भएको पाण्डेले जानकारी दिए । सबै मन्त्रालयलाई यस्ता सामानको मुचुल्का उठाएर लिलामी प्रक्रियामा जान बाटो खुला गरिएको प्रवक्ता शेरचनले बताए ।
‘यकिन विवरण अझै प्राप्त भैसकेको छैन । यस्तो सङ्ख्या निकै ठुलो छ भन्ने अनुमान छ,’ उनले भने, ‘जति भएपनि लिलाम प्रक्रियामा लैजाने निर्णय गरिएको छ ।’
बैठकले बजेट रकमान्तर सम्बन्धी कार्यविधिलाई सहज बनाएको छ।अब सम्बन्धित मन्त्रालयहरूले नै आफ्नो आवश्यकता र औचित्यका आधारमा रकमान्तर गर्न सक्नेछन् भने त्यसको अन्तिम अभिलेखीकरण अर्थ मन्त्रालयबाट हुनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij