काठमाडौँ : गायक तथा फिल्म निर्माता रामकृष्ण ढकाल विवादमा मुछिएका छन् । एक शोमा अन्तर्वार्ताको क्रममा जेनजी आन्दोलनको समयमा सहकारी ठगीको आरोपमा नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आफ्नै गाडीमा हालेर हुइँक्याएको बताएपछि उनी विवादमा फसेका हुन् ।
आफ्नो निर्माण रहेको २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मालती मङ्गले’को प्रमोसनका क्रममा उनले रवि भागेको गाडी आफ्नो र ड्राइभर समेत आफू रहेको खुलासा गरेका छन् ।अन्तरवार्ताका क्रममा कार्यक्रम प्रस्तोताले ढकाललाई कुन रूपमा सम्झिनुहुन्छ भन्ने सेग्मेन्टमा गत भदौ २४ गते नख्खु कारागार तोडेर रास्वपाका सभापति लामिछाने दलबल सहित हात हल्लाउँदै निलो गाडीमा हुइँक्याएको भिडियो देखाउँछन् । भिडियो हेरेपछि ढकालले आफूले नै त्यो गाडी चलाएको बताउँछन् ।
आफू भैँसीपाटीमा बस्ने भएकोले जेनजी आन्दोलनको क्रममा घुम्दै जाँदा जेल नजिक पुगेको र जेल बाहिर रेस्टुरेन्टमा रविले हात हल्लाएको अवस्थामा भेटेपछि उनलाई पुर्याउनका लागि आफूले जोखिम मोलेको उनी बताउँछन् । त्यो समयमा गाडी चलाउने डाइभर समेत आफू भएको उनले सुनाएका छन् ।
उक्त समय गायक रामकृष्ण ढकालको गाडीले रवि लामिछानेलाई चढाएर लगेको व्यापक हल्ला चलेको थियो । तर ड्राइभरको कुरा बाहिर आएको थिएन । त्यतिबेला सार्वजनिक भिडियोहरूमा ड्राइभरको अनुहार देखाइएको थिएन । तर अहिले ढकाल आफैले उक्त कुरा बाहिर ल्याएका छन् ।
उक्त खुलासापछि अहिले सामाजिक सञ्जालमा उनलाई गालीको वर्षा भैरहेको छ । यही २५ गते हलमा लाग्ने उनको फिल्म ‘मालती मङ्गले’ बहिस्कारसम्मको आलोचना सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij