काठमाडौँ : राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरूङ्गमार्गको स्थलगत अनुगमन गरेको छ।
समितिले मंगलवार बुहप्रतिक्षित नागढुङ्गा–सिस्नेखोला सुरूङ्गमार्गको अनुगमन गर्दै छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएको हो। सुरूङ्गमार्ग पाँच वर्षभित्र सञ्चालनमा ल्याउनेगरी चिनियाँ कम्पनी युसिन-एआरटी जेभीले निर्माण गरिरहेको छ।
कुल २ दशमलव ६८ किलोमिटर लम्बाईको यस सुरुङमार्गमा दुईवटा छुट्टाछुट्टै सुरुङ निर्माण गरिएको छ।
मुख्य सुरुङमार्ग सवारीसाधन आवतजावतका लागि प्रयोग हुनेछ भने अर्को सुरुङ आपत्कालीन उद्धार तथा सुरक्षा प्रयोजनका लागि निर्माण गरिएको हो। अनुगमनका क्रममा निर्माण कम्पनीका प्रतिनिधिले निर्माण कार्यको प्रगति विवरणबारे जानकारी गराएका छन्।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरीले राजधानी प्रवेशको प्रमुख नाकामा हुने लामो जामको समस्या समाधान गर्न निर्माणाधीन परियोजनाले महत्वपूर्ण हुने बताइन्।
उनले विगतमा बाहिरी जिल्लाबाट काठमाडौँ छिर्ने क्रममा नागरिकले घण्टौं जाम व्यहोर्नुपरेको उल्लेख गर्दै परियोजना सम्पन्न भएपछि आवागमन सहज हुने विश्वास समेत व्यक्त गरिन्।
उनले ठूला पूर्वाधार आयोजनामा नेपाली नागरिकको सहभागिता न्यून रहनु चिन्ताजनक विषय भएको समेत बताइन्।
उनले नेपाली श्रमिकलाई आवश्यक लाइसेन्स तथा सीप अभिवृद्धिको अवसर प्रदान गरेर अन्तरराष्ट्रिय मापदण्डअनुसार काम गर्नसक्ने र विदेशमा समेत आफ्नो दक्षता प्रयोग गर्न सक्ने गरी अनुभवी बनाउनुपर्ने बताइन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij