Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा, आपत्ति जनाउँदै स्पष्टिकरण जारी

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा, आपत्ति जनाउँदै स्पष्टिकरण जारी

काठमाडौँ :  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको हेटौँडा र काठमाडौँस्थित घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारी कागजात नियन्त्रणमा लिएको छ। मुख्यमन्त्री बानियाँले आफ्नो निवास तथा कार्यालयमा विभागले छापा मार्दा आफ्नो व्यक्तिगत र सामाजिक चरित्रमा आघात पुगेको भन्दै आपत्ति जनाएका छन्।

विभागले सोमबार उनको घर तथा कार्यालयमा छापा मारेको थियो।मुख्यमन्त्री बानियाँले जारी गरेको प्रेस विज्ञप्तिमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौंडा र काठमाडौंस्थित आफ्ना घर तथा कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

मुख्यमन्त्री बानियाँले आफू सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गर्दै प्रदेश सरकारको खर्च कटौती तथा आर्थिक मितव्ययीताका लागि निरन्तर प्रयासरत रहेको बताएका छन्।

साथै, योजना तथा कार्यक्रमहरू आवश्यकता र औचित्यका आधारमा पारदर्शी ढंगले अगाडि बढाइएको पनि उनले स्पष्ट पारेका छन्।उनले राजनीतिक तथा व्यावसायिक जीवनबारे हुने छानबिनलाई सकारात्मक रूपमा लिएको जनाउँदै राज्यका कुनै पनि निकायले अनुरोध गर्दा उपस्थित हुन तयार हुँदाहुँदै अकस्मात् गरिएको छापामारीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

मुख्यमन्त्री बानियाँले संवैधानिक तथा कानूनी दायराभित्र रहेर हुने अनुसन्धानमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै उक्त घटनाबाट प्रदेशवासी र आफ्ना शुभेच्छुकहरू भ्रमित नहुन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट