कैलाली : सरकारले सार्वजनिक तथा अतिक्रमित जग्गामा रहेका संरचनाहरू भत्काइरहँदा रास्वपाकै सांसद केपी खनालको घर भएको जग्गाको पनि लालपूर्जा नभएको पुष्टि भएको छ ।कैलालीको लम्की चुहा नगरपालिका–१ बसपार्क नजिकै निर्माणाधीन घर पनि सार्वजनिक ऐलानी जग्गामा रहेको छ । ऐलानी जग्गामा निर्माण गरिएको उनको घरको नक्सापास पनि छैन । प्रधानमन्त्री शाहले नक्सापास र लालपूर्जा नभएको संरचनामा कारबाही गरिरहँदा उनी निकट रहेका उनकै पार्टीका सांसद खनालको घर पनि नक्सापास विना बनेको खुलेको हो ।
केपी खनालका बुबाआमा लामो समयदेखि भारतमा मजदुरी गर्छन् । अहिले पनि उनीहरू भारतमै छन् । बुबाआमाले भारतमा कमाएको पैसाले कैलालीको लम्कीमा घर बनाएको केपी खनालका स्वकीय सचिव हर्क पुनले बताए । तर घरको पुर्जा नभएको उनको पनि भनाइ छ ।
‘
उनको घर ऐलानीमा भएको कुरा सत्य हो, तर अतिक्रमण गरेर बनाइएको होइन । त्यो घर पनि उहाँका बुबा–आमाले आफ्नै लगानीमा बनाउनु भएको हो, ’ उनले भने ।
कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित खनालले निर्वाचनकै समयमा आफूलाई सुकुम्बासी र ऐलानी जग्गामा बसोबास गर्ने उम्मेदवार भन्दै चिनाउँदै आएका थिए । लालपूर्जा नभएको सुकुम्बासीको छोरो उम्मेदवार भएको भन्दै मतदातालाई बताइरहेका थिए ।आफूलाई भूमिहीन बताउँदै अन्य भूमिहीनहरूको समेत समर्थन जुटाएर उनी सांसद निर्वाचित भएका थिए । अहिले आफैले मापदण्ड विपरित नाक्सापास नगरेरै ऐलानी जग्गामा घर बनाएको खुलेको हो ।
लम्की चुहा नगरपालिका प्रमुख शुशिला शाहीले सांसद खनालको घर अव्यवस्थित बसोबास क्षेत्रमा रहेको र लालपूर्जा नरहेको बताइन् । उनले भूमि आयोगबाट नामपास भएर सबै प्रक्रिया पूरा गरेको भए पनि लालपूर्जा भने जारी नभइसकेको बताइन् । उनले घरको नक्सा पास नभएको समेत बताइन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij