Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

शिक्षक र कर्मचारीले कात्तिकदेखि तलब नपाएपछि त्रिवेणी बराह माविमा पठनपाठन ठप्प

शिक्षक र कर्मचारीले कात्तिकदेखि तलब नपाएपछि त्रिवेणी बराह माविमा पठनपाठन ठप्प

मुग्लिन,१६ वैशाख।  चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिनस्थित त्रिवेणी बराह माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीले लामो समयदेखि तलबभत्ता नपाएको भन्दै विद्यालयको पठनपाठनसहित सम्पूर्ण शैक्षिक गतिविधि बन्द गरेका छन्।विद्यालयका शिक्षक तथा कर्मचारीले कात्तिक महिनादेखि तलब सुविधा नपाएको भन्दै मंगलबारदेखि पठनपाठनसहितका सम्पूर्ण शैक्षिक क्रियाकलाप ठप्प पारेका हुन्। मंगलबार तेस्रो घण्टीपछि कक्षा बन्द गराइएको थियो भने बुधबार विद्यालय गेटमा धर्ना दिइएको छ।
विद्यालयका प्रधानाध्यापक यूवराज लामाका अनुसार कात्तिक महिनादेखि शिक्षक-कर्मचारीको तलबभत्ता, विद्यार्थीका लागि खाजा तथा मसलन्द खर्चलगायतका रकम विद्यालयले प्राप्त गर्न सकेको छैन।प्रधानाध्यापक लामाले समस्या समाधानका लागि सम्बन्धित सरोकारवालासँग पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै शिक्षक तथा कर्मचारी आन्दोलनमा उत्रिन बाध्य भएको बताए। उनले स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालालाई तत्काल छलफलमार्फत समस्या समाधानको पहल गर्न आग्रह गरेका छन्।शिक्षक तथा कर्मचारीले माग सम्बोधन नभएसम्म पठनपाठनसहितका सम्पूर्ण शैक्षिक गतिविधि बन्द रहने जनाएका छन्।
विद्यालयको नामकरणसम्बन्धी विवादका कारण आर्थिक निकासा प्रभावित भएको जनाइएको छ। २०३१ सालमा स्थापना भएको उक्त विद्यालयमा दाताको नाम समावेश गर्ने विषयमा विवाद उत्पन्न भएपछि मुद्दा अदालतसम्म पुगेको थियो।
यसैक्रममा सर्वोच्च अदालतले विद्यालयको नाम ‘श्री त्रिवेणी बराह नन्दप्रसाद त्रिपाठी माध्यमिक विद्यालय’ कायम गर्ने फैसला गरेको थियो। तर उक्त फैसला कार्यान्वयनमा ढिलाइ हुँदा विद्यालयको आर्थिक कारोबार प्रभावित भएको बताइएको छ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरी रकम निकासा गर्न कानुनी जटिलता हुने बताए। उनका अनुसार सर्वोच्चको फैसलाअनुसार विद्यालयको नाम संशोधन गरी बैंक खाता अद्यावधिक नगरेसम्म भुक्तानी प्रक्रिया अघि बढाउन कठिनाइ छ।गाउँपालिकाका अनुसार हाल विद्यालयको बैंक खाता पुरानै नाममा सञ्चालनमा रहेकाले नयाँ नामअनुसार रकम निकासा गर्न समस्या देखिएको हो।
विद्यालय व्यवस्थापन समितिले भने समुदायस्तरमा सहमति जुट्न नसक्दा निर्णय कार्यान्वयनमा ढिलाइ भएको जनाएको छ । समुदायको विरोधका कारण विद्यालय व्यवस्थापन समितिले श्री त्रिवेणी बराह नन्दप्रसाद त्रिपाठी माध्यमिक विद्यालयको नाम कार्यन्वयन गर्ने निर्ण गर्न नसकको  व्यवस्थापन समितिका एक सदस्यले बताए । 
यसैबीच, शिक्षक तथा कर्मचारीको आन्दोलनका कारण विद्यालयको नियमित पठनपाठन प्रभावित बनेको छ भने समस्या समाधानका लागि सम्बन्धित पक्षबीच छलफलको आवश्यकता देखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट