कास्की : कास्की जिल्लामा पहिलोपटक सार्वजनिक सेवाको होम डेलिभरी सेवा सुरु गरिएको छ। हुलाक सेवामार्फत नागरिकका घरदैलोमै सेवा पुर्याउने उद्देश्यसहित अन्नपूर्ण गाउँपालिकाबाट राहदानी (पासपोर्ट) वितरण सेवा घरमै पुर्याउँदै यसको औपचारिक शुभारम्भ जिल्लामा गरिएको हो।
अन्नपूर्ण गाउँपालिका–१, लेवाडे निवासी गीता अधिकारी र वडा नं २ ढिकुरपोखरी निवासी तारा ढुङ्गाना भण्डारीलाई उनीहरूको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उनीहरूको राहदानी हस्तान्तरण गरे।
जिल्ला प्रशासन कार्यालय कास्कीको अग्रसरता तथा अन्नपूर्ण गाउँपालिका र हुलाक निर्देशनालय पोखराको सहकार्यमा होम डेलिभरी सेवा सुरु गरिएको प्रशासनले जनाएको छ।
सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने कार्यक्रमअन्तर्गत यो कार्यक्रम सुरु गरिएको प्रजिअ शर्माले बताइन्।
मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले १०० बुँदे शासकीय सुधारको कार्यसूचीको बुँदा नं २७ मा सरकारी सेवा घरमै उपलब्ध गराउने उल्लेख गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij