Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

डेपुटी गभर्नरको सम्पत्ति विवरण : जग्गा र सुनमा धेरै लगानी, सेयरमा कम चासो

डेपुटी गभर्नरको सम्पत्ति विवरण : जग्गा र सुनमा धेरै लगानी, सेयरमा कम चासो

काठमाडौँ : नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नियुक्ति भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी प्रावधानअनुसार उनले बुझाएको विवरण राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको हो । 

विवरण अनुसार डेपुटी गभर्नर पण्डित र उनका परिवारका नाममा विभिन्न स्थानमा जग्गा, बहुमूल्य धातु तथा बैंक मौज्दात रहेको उल्लेख गरिएको छ। उनीसँग हाल काठमाडौँको टोखा नगरपालिकामा उनकी पत्नी कामना शर्मा पण्डितका नाममा करिब २ करोड २० लाख रुपैयाँ बराबरको जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ । निजी आय, श्रीमतीको आम्दानी तथा बैंक ऋणबाट उक्त जग्गा खरिद गरिएको विवरणमा उल्लेख छ।

यसैगरी काठमाडौँकै तारकेश्वरमा शर्माकै नाममा ६९ लाख रुपैयाँ बराबर तथा कैलालीको धनगढीमा पण्डितकै नाममा १० लाख रुपैयाँ बराबरको जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।
पारिवारिक सम्पत्तितर्फ बुबा केशरीराज पण्डितका नाममा तनहुँको दमौलीमा ११ रोपनी जग्गा तथा आमाको नाममा काठमाडौँमा ६ रोपनी जग्गा रहेको छ । आमाकै नाममा सामाखुशीमा साढे दुई तले घर रहेको जनाइएको छ । उक्त सम्पत्ति पैतृक स्रोतबाट प्राप्त भएको जनाइएको छ।

डेपुटी गभर्नर पण्डितसँग २० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँ बराबरको हिरा रहेको छ । विवाह, पास्नी तथा निजी आर्जनबाट उक्त सम्पत्ति प्राप्त भएको विवरणमा उल्लेख छ । यसबाहेक नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष तथा विभिन्न बैंकहरूमा गरी उनको २ करोड रुपैयाँभन्दा बढी बचत रहेको छ । साथै विभिन्न कम्पनीहरूमा ७ सयभन्दा बढी कित्ता सेयर लगानी रहेको पनि सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट