Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

भ्रामक सूचनाविरूद्ध कडा कदम चाल्ने सरकारको चेतावनी

भ्रामक सूचनाविरूद्ध कडा कदम चाल्ने सरकारको चेतावनी

काठमाडौँ :  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो समय अनलाइन मिडिया र सामाजिक सञ्जालहरूमा आधारहीन, मिथ्या तथा भ्रामक सामग्रीहरूको प्रसार बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ।

मन्त्रालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्ता कपोलकल्पित सूचना सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा नकारात्मक मनोविज्ञान फैलाउने कार्य गरिरहेको उल्लेख गरिएको छ। सरकार यस्ता गतिविधिलाई अत्यन्त गम्भीर रूपमा लिइरहेको जनाउँदै भ्रामक सामग्री प्रकाशन तथा प्रसारण गर्नेहरूमाथि कडा निगरानी गरिने बताइएको छ।

विज्ञप्तिमा सबै सञ्चारमाध्यम, संस्था तथा व्यक्तिहरूलाई आधिकारिक स्रोतबाट पुष्टि नभएका समाचार वा सूचना प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरिएको छ। यदि आधारहीन तथा मिथ्या सामग्री प्रकाशन गरेको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ। यस क्रममा विद्युतीय कारोवार ऐन लगायतका कानुनी प्रावधानहरू प्रयोग गरिने जनाइएको छ।

त्यसैगरी, मन्त्रालयले सर्वसाधारणलाई पनि यस्ता भ्रामक सामग्री फैलाउन सहयोग पुग्ने गतिविधिबाट टाढा रहन अपिल गरेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई कुनै पनि सामग्री साझा गर्नुअघि त्यसको सत्यता र आधिकारिकता अनिवार्य रूपमा जाँच गर्न सुझाव दिइएको छ।


मन्त्रालयले भ्रामक सूचना सम्बन्धी गुनासो वा जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइटमा रहेको 'सामाजिक सञ्जाल गुनासो दर्ता' पोर्टलमार्फत उजुरी दिन सकिने व्यवस्था रहेको जनाएको छ। साथै आवश्यक परेमा फोन वा इमेलमार्फत पनि सम्पर्क गर्न सकिने जानकारी दिएको छ।


सरकारले सूचना प्रवाहलाई विश्वसनीय, तथ्यपरक र जिम्मेवार बनाउन सबै पक्षसँग सहकार्यको अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट