काठमाडौँ : नेपाल केरा उत्पादक महासंघले सरकारसँग केरा आयात नखुलाउन माग गरेको छ । महासंघले स्वदेशी उत्पादनलाई प्रोत्साहन दिँदै १–२ वर्षभित्रै नेपाल केरामा पूर्ण आत्मनिर्भर बन्न सक्ने दाबी गरेको छ । महासंघले आज मंगलबार जारी गरेको विज्ञप्तिमा बजारमा बिचौलियाको रजगजका कारण किसान र उपभोक्ता दुवै मारमा परेको बताएको छ ।
अहिले किसानले बारीबाट प्रतिदर्जन ५०–८५ रुपैयाँमा बेच्ने केरा उपभोक्ताले ३५०–४०० रुपैयाँसम्ममा किन्नुपर्ने अवस्था छ । महासंघले फ्युजारियम विल्ट (पानामा रोग) जस्ता खतरनाक भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै विदेशी केराको आयातले राष्ट्रिय जैविक सुरक्षामा सीधा खतरा उत्पन्न गराउने चेतावनी दिएको छ ।
महासंघले केरा आयात नियन्त्रण गर्ने सरकारको हालैको कदमको प्रशंसा गर्दै यो निर्णयले देशको कृषि प्रणालीलाई संरक्षण गर्ने महत्त्वपूर्ण आधार तयार पारेको बताएको छ ।
हालको मूल्य वृद्धि २–३ महिनाको अस्थायी असन्तुलन मात्र भएको र देशभर ४०–५० लाख नयाँ केराका बिरुवा विस्तार भइरहेकाले किसानहरू उत्पादन बढाउन प्रतिबद्ध रहेको जनाएको छ । सही नीति र प्रभावकारी बजार व्यवस्थापन भए नेपाल चाँडै केरामा पूर्ण आत्मनिर्भर हुने महासंघको विश्वास छ ।
सरकारले विशेषगरी भारतबाट आयात भइरहेको केरामा अत्यधिक विषादी देखिएपछि आयातमा रोक लगाएको छ । केरा आयात नहुँदा नेपाली बजारमा यसको मूल्य निकै बढेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij