पर्वत : पर्वतको मोदी गाँउपालिकामा पहिलोपटक बोरिङमार्फत लिफ्ट खानेपानी आयोजना सुरु भएको छ।मोदी गाउँपालिकाको आर्थिक सहयोग र गण्डकी प्रदेश सरकारको सहकार्यमा रतीखोला–तिलाहार बोरिङ/लिफ्ट खानेपानी आयोजनाको काम आइतबारदेखि सुरु भएको हो । सो आयोजनाको शिलान्यास मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले गरेका थिए ।
लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका मोदी गाउँपालिका–६ तिलहार, थामर्जुङ र दराक क्षेत्रमा सहज रुपमा खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यले योजना अघि बढेको हो । बस्तीभन्दा तल रहेको रतीखोला किनारबाट बोरिङमार्फत पानी उत्खनन् गरिने भएको छ।
उत्खनन् गरिएको पानी करिब एक किलोमिटर माथि डाँडोमा ट्याङ्की निर्माण गरी लिफ्टमार्फत तानेर घरघरमा वितरण गरिने गाउँपालिकाका उपाध्यक्ष लामिछानेले बताए । यो आयोजनाबाट एक हजार घरपरिवारलाई खानेपानीको सुविधा विस्तार गर्ने योजना रहेपनि तत्काल अति समस्यामा परेका दुई सय घरमा विस्तार गरिने जनाइएको छ।
यो आयोजना मोदी गाउँपालिकाको २५ लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारको १५ लाख रुपैयाँ र उपभोक्ताका तीन लाख रुपैयाँ बराबरको श्रमदान गरी ४३ लाख रुपैयाँ लागतमा सम्पन्न हुने भएको छ।
मुख्य ट्याङ्की ३० हजार लिटर र बाँकी दुई वटा शाखा ट्याङ्की एक हजार पाँच सय लिटर क्षमताको बनाइएको छ । आजभन्दा १८ महिना अघि गरिएको सर्वेक्षणमा १२० मिटर गहिराइमा पानी पत्ता लागेको थियो । जसअनुसार गाउँपालिकाले गरेको बोलपत्र आह्वानमा रिमाल बोरिङ लिमिटेडले निर्माणको जिम्मा पाएको छ।चालु आर्थिक वर्षभित्रमै सवै घरधुरीमा खानेपानी विस्तार सम्पन्न गरिसक्ने गरी काम सुरु गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत बाबुराम पुरीले जानकारी दिए।
यसअघि जिल्लाको मोदी र फलेवास नगरपालिकाका विभिन्न स्थानमा बोरिङमार्फत पानी उत्खनन् गरी वितरण गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij