रौतहट : कटहरिया नगरपालिकामा विद्युत् आपूर्ति रोकिदा करिब १६ सय परिवार खानेपानी सेवाबाट वञ्चित भएका छन्।
विद्युत् महसुल नबुझाएको भन्दै नेपाल विद्युत् प्राधिकरण मौलापुर शाखाले नगरपालिका कार्यालय र वडा नम्बर ५ स्थित खानेपानी उपभोक्ता समितिको लाइन काटेपछि समस्या उत्पन्न भएको हो।
तीन दिनअघि प्राधिकरणको टोलीले खानेपानी उपभोक्ता समितिको मिटर हटाएको थियो। त्यसपछि नगरपालिकाको कार्यालयको लाइन काटेको जनाएको छ।
विद्युत् आपूर्ति अवरुद्ध हुँदा नगरपालिकाको दैनिक प्रशासनिक कामकाज प्रभावित भएको छ भने चर्को गर्मीमा कटहरिया–४ र ५ का स्थानीय खानेपानी अभाव झेल्न बाध्य भएका छन्। वडा नम्बर ४ का अध्यक्ष चन्दन कुशवाहाले विद्युत् महसुल समयमै नतिर्दा यस्तो अवस्था आएको भन्दै दुःख व्यक्त गरे। उनले मेयर अजय प्रकाश जैसवालको लापरवाहीका कारण सेवाग्राही समस्यामा परेको आरोप लगाए।
नेपाल विद्युत् प्राधिकरण मौलापुरका प्रमुख उमेश दासका अनुसार नगरपालिकाले करिब ७३ हजार रुपैयाँ र खानेपानी उपभोक्ता समितिले १३ लाख ५१ हजार ४०० रुपैयाँभन्दा बढी बक्यौता राखेका छन्। “बारम्बार ताकेता गर्दा पनि भुक्तानी नभएपछि मिटर हटाउनुपरेको हो”‚ उनले भने। उनले प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाको लाइन भने नकाटेको बताए।
कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले नगरपालिकातर्फको बक्यौता दुई दिनभित्र तिर्ने प्रतिबद्धता जनाए। खानेपानी उपभोक्ता समितिको बक्यौता नगरपालिकाले नतिर्ने उनले स्पष्ट पारे।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले नगरपालिकाले पानी महसुल निःशुल्क घोषणा गरेकाले विद्युत् शुल्क पनि पालिकाले नै तिर्नुपर्ने माग गरे। यसअघि पनि पालिकाले नै शुल्क भुक्तानी गर्दै आएको उनको भनाइ छ।
बढ्दो गर्मीका बीच पानी अभाव गम्भीर बन्दै गएको भन्दै स्थानीयले तत्काल समस्या समाधान गर्न माग गरेका छन्। माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij