सिन्धुपाल्चोक : राज्यले तोकेको मापदण्ड, वातावरणीय कानुन तथा कर प्रणालीलाई बेवास्ता गर्दै सिन्धुपाल्चोकमा सञ्चालन भइरहेका क्रसर उद्योगहरू गम्भीर विवादको केन्द्रमा पुगेका छन्। जिल्ला अनुगमन समितिको पछिल्लो स्थलगत अनुगमनले अधिकांश क्रसर उद्योगहरू कानुनी दायराबाहिर सञ्चालन भइरहेको तथ्य सार्वजनिक गरेको छ।
अनुगमनका क्रममा धेरै उद्योगहरूले प्रारम्भिक वातावरणीय परीक्षण (IEE) र वातावरणीय प्रभाव मूल्यांकन (EIA) जस्ता अनिवार्य प्रक्रिया पूरा नगरी सञ्चालन गरिरहेको पाइएको छ। यसले कानुनी शासनमाथि प्रश्न उठाउनुका साथै स्थानीय वातावरण र जनजीवनमा प्रत्यक्ष असर पारेको देखिएको छ।
जिल्लाका केही उद्योगहरू बालुवा प्रशोधन (वासिङ) उद्योगका रूपमा दर्ता भए पनि वास्तविक रूपमा क्रसर सञ्चालन गरिरहेको पाइएको छ। यस्तो गतिविधिले सरकारी निकायलाई झुक्याउने मात्र नभई नियमन प्रणालीलाई कमजोर बनाएको अनुगमन टोलीको निष्कर्ष छ।
मेलम्ची नगरपालिका–१३ मा २०६७ सालदेखि सञ्चालनमा रहेको लहरेदेवि ट्रेडिङ प्रा.लि. यसैको उदाहरण बनेको छ। बालुवा वासिङ उद्योगका रूपमा दर्ता भएर क्रसर सञ्चालन गरेको पाइएपछि जिल्ला समन्वय समितिका प्रमुख नेतृत्वमा गएको टोलीले उक्त उद्योग बन्द गराएको छ। टोलीका अनुसार लामो समयदेखि कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिँदासमेत उद्योगले अटेरी गरेपछि बाध्य भएर बन्द गराइएको हो। आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र पुनः सञ्चालन गर्न निर्देशन दिइएको छ।
यस्तै, गत फागुनदेखि सञ्चालनमा आएको फटकशिला क्रसर उद्योग ले राजमार्गमाथि सञ्चालनका लागि स्वीकृति लिए पनि फरक स्थानमा उद्योग सञ्चालन गरेको फेला परेको छ। अनुगमन टोलीले उक्त उद्योगलाई पाँच दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न अल्टिमेटम दिएको छ। अन्यथा कडा कारबाही गरिने चेतावनी दिइएको छ।
जिल्लामा दर्ता भएका कुल ३९ क्रसर उद्योगमध्ये पाँच वटा हाल बन्द अवस्थामा रहेका छन्। बाँकी उद्योगमध्ये पनि अधिकांशले मापदण्ड पूरा नगरेको पाइएको छ। धेरै उद्योगहरूले नियमित नवीकरण नगरेका कारण राज्यले पाउनुपर्ने राजस्व गुमिरहेको स्थानीय प्रशासनले जनाएको छ।
प्राविधिक अनुगमनले नदीजन्य पदार्थको अवैज्ञानिक उत्खनन् र प्रदूषणलाई अर्को गम्भीर समस्याका रूपमा औंल्याएको छ। कतिपय उद्योगहरूले नदी किनारमै बालुवा र ग्राभेल थुपार्ने तथा तीन मिटरभन्दा बढी गहिराइमा उत्खनन् गर्ने गरेको पाइएको छ।
विशेषगरी मेलम्ची आसपास सञ्चालनमा रहेका उद्योगहरूले वासिङबाट निस्किएको फोहोर पानी सिधै नदीमा मिसाउँदा मेलम्ची बजारदेखि दोलालघाटसम्म नदी कालो लेदोमा परिणत हुने गरेको स्थानीयको गुनासो छ। स्थानीयका अनुसार पहिले सफा बग्ने नदी अहिले दुर्गन्धित बनेको छ र माछा तथा अन्य जलचरहरू हराउँदै गएका छन्।
वातावरणविद्हरूका अनुसार नदीको प्राकृतिक बहाव र संरचना बिग्रिँदा बाढी तथा पहिरोको जोखिम समेत बढ्ने खतरा हुन्छ। यस्तो गतिविधिले दीर्घकालीन रूपमा पारिस्थितिक सन्तुलन बिगार्ने चेतावनी उनीहरूले दिएका छन्।
स्थानीय तह, जिल्ला अनुगमन समिति तथा गृह मन्त्रालयले पटक–पटक अनुगमन र निर्देशन दिए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको देखिएको छ। स्थानीयवासीहरूले राजनीतिक संरक्षण र कमजोर नियमनका कारण समस्या जस्ताको तस्तै रहेको आरोप लगाएका छन्। विशेषज्ञहरूका अनुसार समस्या समाधानका लागि कडा कानुनी कार्यान्वयन, नियमित अनुगमन तथा पारदर्शी अनुमति प्रणाली अनिवार्य छ। वातावरणीय मापदण्ड पालना नगर्ने उद्योगलाई पूर्ण रूपमा बन्द गर्नुपर्ने सुझाव पनि दिइएको छ।
सिन्धुपाल्चोकका क्रसर उद्योगहरू अहिले कानुनी, आर्थिक र वातावरणीय तीनै दृष्टिकोणबाट संकटको केन्द्रमा देखिएका छन्। समयमै नियन्त्रण र व्यवस्थापन गर्न नसकिए यसको असर स्थानीय तहमा मात्र सीमित नरही राष्ट्रिय स्तरमै फैलिने चेतावनी सरोकारवालाहरूले दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij