Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

केराको मूल्य आकाशिँदै : दर्जनकै ३५० पुग्यो

केराको मूल्य आकाशिँदै : दर्जनकै ३५० पुग्यो

काठमाडौं : सात महिनाको अवधिमा केराको मूल्यमा साढे ८७ प्रतिशतको वृद्धि भएको छ । कालीमाटी फलफूल तरकारी बजार विकास समितिको तथ्यांकले केराको थोक मूल्यमा उक्त प्रतिशतको वृद्धि देखाएको हो ।

गत भदौमा केराको होलसेल औसत मूल्य प्रति दर्जन १२० रुपैयाँभन्दा तल थियो । यसको सात महिनापछि होलसेल मूल्यमा १२० ले वृद्धि हुँदै २२५ रुपैयाँ पुगेको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार फलफूलको  वार्षिक मूल्यवृद्धि ९.६३ प्रतिशत छ ।

असोजदेखि चैतसम्म यस्तो रह्यो केराको मूल्य

गत असोज ३१ गते केराको होलसेल औसत मूल्य प्रति दर्जन १२० रुपैयाँ रहेको थियो । कार्तिक महिनामा मूल्य १४५ सम्म पुगेको देखिन्छ । तर, मंसिर २२ गते मूल्य ह्वात्तै बढेर २१० रुपैयाँ पुगेको हो ।  मंसिरको अन्त्यतिर मूल्य केही घटेर १९० रुपैयाँमा स्थिर भयो ।

यसपछि पुस र माघ महिनामा केराको मूल्यमा क्रमिक गिरावट आएको देखिन्छ । पुसको अन्त्यतिर १७५ मा झरेको मूल्य माघको मध्यदेखि १५० रुपैयाँ सम्म पुगेको थियो ।  माघको अन्त्यदेखि केराको मूल्य पुनः उकालो लाग्यो ।

फागुन महिनाभर १८० देखि १९० रुपैयाँको हाराहारीमा रहेको मूल्य चैत लागेपछि भने तीव्र गतिमा बढेको छ । चैत ४ गतेदेखि १२ गतेसम्म मूल्य प्रति दर्जन औसत २१० रुपैयाँ पुग्यो । तर यसपछि चैत २८ र २९ गते केराको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यस अवधिमा मूल्य बढेर प्रति दर्जन औसत थोक मूल्य २२५ रुपैयाँ पुगेको छ । यो विगत सात महिनाको अवधिकै सबैभन्दा उच्च मूल्य हो ।

केराको माग बढ्यो आपूर्ति घट्यो

वि.सं. २०८२ असोजदेखि चैतसम्मको बजार तथ्यांकअनुसार  केराको दैनिक आयातमा निकै ठूलो उतारचढाव देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार असोज यता केराको आयात सबैभन्दा बढी कार्तिक ६ मा भएको देखिन्छ । उक्त महिनामा एकैदिन चार हजार १०० केजी केरा बजारमा भित्रिएको थियो । त्यसैगरी, दोस्रो ठूलो वृद्धि माघ १८ मा देखिन्छ ।  जहाँ आयातको परिमाण चार हजार केजी पुगेको थियो । तर यसपछिको केही दिनहरूमा बजारमा केराको उपलब्धता लगभग शून्य नै बनेको समितिको तथ्यांकमा देखिन्छ ।

“विशेषगरी मंसिर २८ गते आयात ह्वात्तै घट्यो । साथै, पुस चार र माघ दुई  गतेको आसपासमा पनि केराको आयात निकै न्यून  रह्यो । बजारमा माग अनुसार केरा भित्रिन सकेको छैन, ” समितिले भनेको छ ।

 नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष भरत खतिवडा भारतबाट हुँदै आएको केरा आयातमा प्रतिबन्ध लाग्दा उपभोक्ता महँगीको मारमा परेको बताउँछन् । आन्तरिक उत्पादनले मात्रै माग धान्न सक्ने स्थिति नरहेको उनको भनाइ छ । नेपालको आन्तरिक उत्पादन र मागबीच करिब ६० हजार मेट्रिक टनको खाडल रहेको अनुमान गरिएको छ  ।

केरा आयात प्रतिबन्धित

जाडो मौसममा केराको खपत कम हुने र केही मात्रामा नेपाली उत्पादन उपलब्ध हुने भएकाले सुरुका महिनाहरूमा यसको प्रभाव नदेखिएको उनले बताए ।  गर्मी बढेसँगै मागमा भएको वृद्धिका कारण बजारमा अभाव देखिएको उनको भनाइ छ । । “हाल नेपालको आन्तरिक उत्पादनले बजारको मागलाई थेग्न सकेको छैन । यो समयमा नेपालमा केराको उत्पादन नगण्य मात्रामा रहेको छ । बजारमा केराको अभाव भएपछि हाल एउटा केराको कोसालाई ३० रुपैयाँसम्म पर्ने गरेको छ,” उनले बाह्रखरीसँग भने ।

आयातमा प्रतिबन्ध भए पनि सीमावर्ती क्षेत्रबाट साइकल र मोटरसाइकलमा  अवैध रूपमा केरा भित्रिरहेको महासंघका अध्यक्ष  खतिवडाको भनाइ छ । “यसरी ल्याइएका भारतीय केरालाई नेपाली केरा भन्दै बजारमा बिक्री गर्ने गरिएको छ,” उनले भने । महासंघले अवैध भित्रिएका केरा बजारमा विक्री नगर्ने निर्णय गरेको उनले बताए ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रोशन अधिकारी नेपालको केरा खेती जोगाउन आयात प्रतिबन्ध गरिएको बताउँछन् । जैविक सुरक्षालाई ध्यानमा राख्दै सरकार यस निर्णयमा पुगेको उनको भनाइ छ । केरा खेतीमा क्षति पुर्‍याइरहेको फिजारियम र अक्सिस्पोरिय जस्ता घातक रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले यो निर्णय लिएको उनको भनाइ छ । '' यो रोगले स्थानीय जातदेखि व्यावसायिक रूपमा लगाइएका सबै प्रकारका केरा खेतीलाई पूर्ण रूपमा नष्ट गर्न सक्ने क्षमता राख्दछ । यसकारण केरा आयात अझै खुला नगरिएको हो,” उनले बाह्रखरीसँग भने ।

प्रतिबन्धका बाबजुद ३३ लाख केजीभन्दा बढी केरा आयात भएको देखिन्छ । भन्सार विभागको तथ्यांकअनुसार गत असोजदेखि फागुनसम्म ३३ लाख ९३ हजार ४४० केजी केरा भित्रिएको देखिन्छ । सरकारले आयात अनुमति पत्रमा बन्देज लगाउँदा पनि उक्त परिमाणका केरा आयात भएको हो । ''आयात अनुमति पत्रको म्याद तीन महिनाको हुने र विशेष कारण देखाउँदै तीन महिना थप गर्न मिल्ने सुविधा छ । पहिले नै अनुमति पाएकाले केरा भित्र्याएको हुनसक्छ,'' भन्सार विभागका एक अधिकारीले भने ।

यद्यपि, अवैध रूपमा चोरी निकासी भएर आउने केरालाई रोक्न राजस्व अनुसन्धान विभाग र प्रहरी प्रशासनसँग समन्वय भइरहेको छ । केही समयअघि चार  लाख रुपैयाँ बराबरको दुई ट्रक केरा जफत  गरिएको थियो ।

माग र आपूर्तिबीचको खाडलका कारण केराको मूल्य ह्वात्तै बढेको परिस्थिति छ । पछिल्लो समय बजारमा फलफूल र तरकारीको मूल्यमा भएको अस्वाभाविक वृद्धिले उपभोक्ताहरू चरम मर्कामा परेको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् । आम्दानीको स्रोत सीमित भएका उपभोक्ता महँगीबाट निकै आक्रान्त बनेको उपभोक्ता संरक्षण मञ्च नेपालीको उपाध्यक्ष सुवर्णप्रभाव गुरागाईं बताउँछिन् । ''तरकारी फलफूल जस्ता अत्यावश्यक खाद्यवस्तुको भाउ ह्वात्तै बढेको छ । यसको मर्कामा आयस्रोत सीमित हुने उपभोक्ता परिरहेका छन्,'' उनले भनिन् ।

उपभोक्ता अधिकारकर्मी गुरागाईंले सरकारसँग बजार सहजीकरणको माग गरेकी छन् । सरकारले कुनै पनि निर्णय गर्दा परिपक्व निर्णय लिनुपर्ने, बजारलाई निश्चित समूहको कब्जामा जान दिन नहुने र उपभोक्ताको हक तथा स्वास्थ्यका लागि सदैव तत्पर रहनुपर्ने गुरागाईंको माग छ ।  स्वदेशी उत्पादनको केरा खेतीलाई बचाउने नाममा उपभोक्तालाई मार पार्न नहुने  उनले बताइन् ।

आयात सन्तुलन मिलाउन व्यवसायीको माग, सरकारको चासो रोग नियन्त्रण

केराको मूल्य ह्वात्तै बढ्दा उपभोक्ताहरू मारमा परेको भन्दै फलफूल व्यवसायी महासंघले पनि स्वदेशी उत्पादन र आयातको सन्तुलन मिलाउने नीतिमा ध्यान दिन सरकारलाई सुझाएको छ ।

यता सरकार भने व्यापार सहजीकरण भन्दा पनि नेपाली केरा खेतीलाई रोगबाट बचाउनु मुख्य प्राथमिकता रहेको बताउँछ । नेपालमा मुख्यतया तराई क्षेत्रका साथसाथै भित्री मधेस  र पहाडका बेसीहरूमा केरा खेती गरिन्छ । घरायसी प्रयोजनका लागि नेपालमा व्यावसायिक केरा खेती प्रति कृषकहरुको आकर्षण बढ्दै गएको पाइन्छ ।

हाल नेपालमा चितवन, नवलपरासी, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर, झापा, दाङ, रुपन्देही, बारा, सर्लाही, मोरङ, सुनसरी लगायतका जिल्लाहरूमा व्यावसायिक रूपमा केरा खेती भइरहेको छ । नेपालमा क्षेत्रफलका हिसाबले आँप र सुन्तला खेतीपछि केरा तेस्रो स्थानमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij