Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

दरवाङ–मुना–ढोरपाटन सडकमा कालोपत्र सुरु, ताकमवासी उत्साहित

दरवाङ–मुना–ढोरपाटन सडकमा कालोपत्र सुरु, ताकमवासी उत्साहित

धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नतिका लागि सञ्चालित योजनामार्फत धवलागिरि गाउँपालिकामै पहिलोपटक ताकममा कालोपत्र गर्न थालिएको हो। ‘प्रिमिक्स’ प्रविधिको कालोपत्रका लागि बुधबारदेखि एक लेनमा ‘प्राइमकोट’ (बिटुमिन) बिछ्याउन थालिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर महेन्द्र बानियाँले बताए।

"ग्राभेलमाथि राखेको प्राइमकोट सुकेपछि अर्को चरणमा पनि बिटुमिन बिछ्याएर तेस्रो चरणमा बिटुमिनसँग चिप्स भुटेर सडकमा बिछ्याउँछौँ," उनले भने, "६ किलोमिटर दूरीमा स्तरोन्नतिका लागि सञ्चालित आयोजना सम्पन्न हुने चरणमा छ।" यो म्याग्दीको रणनीतिक महत्त्वको र प्राथमिकता प्राप्त सडक आयोजना हो। यस योजनामार्फत दुई लेनमा ९ सय मिटर दूरीमा कालोपत्र गर्न लागिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न सञ्चालित आयोजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको कार्यालय प्रमुख बानियाँले बताए।
दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०८१ जेठ २० गते रामसागर बिके एस केबीएस धवलागिरि जेभीले १४ करोड ६१ लाख रुपैयाँमा पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का सम्झौता गरेको थियो। ठेकेदारले संरचना निर्माणका साथै बेस र सबबेस बिछ्याएको छ। गौँथली भिरलगायत अप्ठ्यारो ठाउँमा ढलान भएको छ। सडकलाई आठ मिटर फराकिलो बनाउने, नाली र पर्खाल निर्माण गर्ने काम गरिएको छ। धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो। यो सडक धवलागिरि गाउँपालिकाका पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो।
कालोपत्र हुन थालेपछि ताकमवासी उत्साहित भएको धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले बताए। सडक निर्माणको काम चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ। यो सडक यसअघि चारदेखि पाँच मिटर मात्र फराकिलो थियो।
 

यसै सडक आयोजनाअन्तर्गत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) खण्डमा अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न ५८ करोड ८० लाख ५३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको अर्को योजनाको पनि निर्माण सुरु भएको म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताए।

गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिना रहेको छ। म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ आवतजावत गर्न ५० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्त्वको मानिएको जुग्जालीले बताए।

धवलागिरिको केन्द्र मुनादेखि खोरिया, मरेनी, ढोरपाटनको जलजला हुँदै पूर्वी रुकुमको तकसेरा गत फागुन महिनामा सडक सञ्जालले जोडिएको थियो। ढोरपाटनदेखि जलजलासम्म भने यसअघि नै सडक निर्माण भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट