Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

आयल निगमका कार्यकारी निर्देशकले गाडी दुर्घटनाबारे दिए स्पष्टीकरण

आयल निगमका कार्यकारी निर्देशकले गाडी दुर्घटनाबारे दिए स्पष्टीकरण

काठमाडौँ : चैत १४ गते आफू सवार गाडी दुर्घटना भएको विषयमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले स्पष्टीकरण दिएका छन् । 

शनिबार दिउँसो करिब २ बजे बा ७६५४ नम्बरको उनी आफैँले चलाएको सरकारी कार कलंकी चोकस्थित डिभाइडरमा ठोक्किएको थियो । दुर्घटनालगत्तै कलंकीस्थित ट्राफिक प्रहरीले भट्टलाई उद्धार गर्नुका साथै दुर्घटनाग्रस्त कार र उनलाई नियन्त्रणमा लिएको थियो । 

यस घटनालाई लिएर सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा ‘नयाँ वर्षको बिदा मनाउन निस्कँदा दुर्घटना भएको’ भन्ने चर्चा भएपछि कार्यकारी निर्देशक भट्टले फेसबुकमार्फत स्पष्टीकरण दिएका हुन् । उनले उक्त घटना नयाँ वर्षको नभई १५ दिन अगाडिको भएको स्पष्ट पारेका छन् । 

उनले लेखेका छन्, ‘ग्यास र पेट्रोलियम पदार्थको हालको संकटमा आपूर्ति वितरण सहज गर्न बिदाको दिनमा पनि बजारको अवस्था बुझ्न मन्त्रालयका सचिवज्यूलाई समेत सँगै राखेर स्वयम्भू क्षेत्रका केही ग्यास विक्रेताहरूको अनुगमन गरी फर्कने क्रममा दुर्घटना भएको हो ।’

भट्टले बिदाको दिनमा ड्राइभरलाई दुःख नदिने हेतुले आफैँले गाडी चलाएको र आफूसँग गाडी चलाउने आधिकारिक पाससमेत रहेको दाबी गरेका छन् । उनले केही युट्युबरहरूले नयाँ वर्षमा घुम्न निस्किएको भन्दै भ्रामक समाचार सम्प्रेषण गरेकोमा आपत्ति जनाउँदै यथार्थ बुझिदिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij