Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नयाँ वर्षमा मस्त झुम्यो पोखरा

नयाँ वर्षमा मस्त झुम्यो पोखरा

गण्डकी :  नयाँ वर्ष २०८३ को स्वागतसँगै पर्यटकीय राजधानी पोखरा यतिबेला मस्त झुमिरहेको छ । नयाँवर्षको छेको पारेर लेकसाइडमा आयोजना गरिएको फेवा नयाँवर्ष महोत्सवले बेग्लै रौनक ल्याएको छ । रङ्गीचङ्गी तुल, ध्वजापतका र प्रवेशद्वारले पोखराको लेकसाइड क्षेत्र सिँगारिएको छ। नयाँ वर्ष मनाउन पोखरा आएका पर्यटकले यहाँका होटल भरिभराउ छन्।

लेकसाइड क्षेत्री पसल र रेष्टुराँबाट निस्कने सङ्गीतको मधुर धुनसँगै आगन्तुकहरू ओहोरदोहोर गरिरहेका देखिन्छन् । सडक छेउछाउ राखिएका व्यावसायिक कक्षमा किनमेल गर्नेको भीड छ । मौलिक झाँकी, नृत्यदेखि साङ्गीतिक ‘कन्सर्ट’मा पर्यटक झुमिरहेका छन् । आइतबारदेखि सुरु भएको महोत्सव आज मधयरातसम्म चल्नेछ । आयोजक होटल सङ्घ पोखरामा अध्यक्ष लक्ष्मण सुवेदीले २१औँ संस्करणको महोत्सव आयोजना भइरहेको बताए।

तीन दिनसम्म दसौँ हजार पर्यटकले महोत्सव अवलोकन गर्ने उनको भनाइ छ । नयाँ वर्ष मनाउने गन्तव्यका रूपमा फेवा महोत्सव स्थापित भइरहेको अध्यक्ष सुवेदीले बताए। महोत्सवमा संस्कृति संरक्षण, मनोरञ्जनसँगै व्यवसाय प्रवद्र्धनका गतिविधि सञ्चालन गरिएको उनको भनाइ छ।

लेकसाइडको हलनचोकदेखि ड्यामसाइडसम्म करिब तीन किलोमिटर सडक क्षेत्रमा महोत्सव आयोजना भइरहेको हो । ‘पर्यटन, संस्कृति र खाना’ नारा दिइएको महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, खाना प्रदर्शनीलगायत सडकमै राखिएको छ।

सबै उमेर समूहका पर्यटकलाई लक्षित गरी विविध मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिएको छ । पर्यटकीय याम पनि चलिरहेकाले यतिबेला पोखरामा विदेशी पर्यटकहरूको पनि चहलपहल बढेको छ । महोत्सवस्थलमा नेपाली पञ्चेबाजा र गीतसङ्गीतमा विदेशीहरू पनि नाच्दै, रमाउँदै गरेका देखिन्छन्। विश्व पर्यटन बजारमा चिनिएको पोखरा पछिल्लो समय नयाँ वर्षको गन्तव्यका रूपमा स्थापित भएको छ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले यस्ता मेलामहोत्सवले पोखराको पर्यटकीय गतिविधिलाई चलायमान बनाउने बताए। उनले स्थानीय अर्थतन्त्र उकास्न र व्यवसायीहरूको मनोबल बढाउन पनि मेला–महोत्सव आयोजना भइरहनुपर्ने धारणा राखे । पोखरामा हुने यस्ता गतिविधिले यहाँको पर्यटनलाई प्रवद्र्धन गर्ने, आर्थिक अवसर सिर्जना हुने विश्वास लिइएको छ।

नयाँ वर्षका दिन फेवातालमा रहेको ताल बाराही मन्दिरमा पनि भक्तजन र पर्यटकको भीड लागेको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष परशुराम शर्मा पहारीले बताए। “नयाँ वर्षमा देवी भगवतीको दर्शन गर्नाले मनोकामना पूरा हुन् र वर्षभरि कुनै दुःखकष्ट नपर्ने जनविश्वास रहेको छ”, उनले भने, “आज बिहान ६ः०० बजेदेखि नै ताल बाराहीमा भक्तजनको घुइँचो लागेको छ।”

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट