काठमाडौँ : बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई बागमती प्रदेश सरकारले दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
वैशाख २ गते चौथोपटक जिब्रो छेड्न लागेका श्रेष्ठलाई मंगलबार बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले नगद दुई लाख रुपैयाँसहित सम्मान गरे।
जात्रामा जिब्रो छेड्ने व्यक्तिलाई स्वास्थ्य उपचार तथा प्रोत्साहनस्वरूप रकमको व्यवस्था गरेको संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले जानकारी दिए। गत वर्षको इन्द्रजात्रामा भएको जिब्रो छेड्ने जात्रामा पहिलोपटक वीरेन्द्रभक्त गजु श्रेष्ठलाई यो पुरस्कार प्रदान गरिको थियो ।
‘जिब्रो छेड्ने परम्पराको निरन्तरताका लागि काम गर्ने व्यक्तिहरूको सङ्ख्या कम हुँदै गएको छ।निकट भविष्यमा यो जात्रा लोप हुन नदिन र ऐतिहासिक जात्रालाई लोपोन्मुख सांस्कृतिक सम्पदाको रूपमा संरक्षण गर्न वर्षमा २ पटक आयोजना हुने जात्रामा सहभागी भई जिब्रो छेडाउने व्यक्तिलाई प्रोत्साहन रकमको व्यवस्था भएको हो’, उनले भने।
मध्यपुर थिमी का दुई स्थानमा जिब्रो छेडाउने परम्परा छ। बोडेमा वैशाख २ गते जिब्रो छेडिन्छ भने थिमीको द्विगुटोलमा भाद्र शुक्ल चतुर्दशीमा जिब्रो छेडिन्छ।
यो जात्राले देशमा रोग व्याधि नलाग्ने, बालीनाली सप्रिने र अनिकालजस्ता प्राकृतिक विपत्तिबाट जोगिने जनविश्वास छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij