काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पार्टी नेतृत्व पुनर्गठनको नयाँ समझदारीनजिक पुगेका छन्। एमालेका एक पदाधिकारी तहका नेताहरूले दिएको जानकारी अनुसार उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्माजनक बिदाइका लागि आग्रह गर्ने र पार्टी पुनर्गठन गर्ने विषयमा छलफल भएको छ।
‘यसबीचमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच पार्टी पुनर्गठनको विषयमा कुराकानी भएको छ। नेतृत्व पुनर्गठनबारे महासचिव पोखरेल पनि सकारात्मक हुनुहुन्छ। उहाँहरू छिट्टै नयाँ समझदारीमा पुग्ने सम्भावना बढेको छ,’ ती नेताले दाबी गरे।
विष्णु पौडेलनिकट एक नेताले पनि महासचिव पोखरेल नेतृत्व पुनर्गठन गर्नुपर्छ भन्ने मनस्थितिमा पुगेको दाबी गरे। पौडेलसँगको कुराकानीमा महासचिव पोखरेलले यस्तो बताएको ती नेताको दाबी छ।
‘महासचिव शंकर पोखरेलले पनि नेतृत्व पुनर्गठनकै मनस्थिति बनाइसक्नुभएको छ,’ ती नेताले दाबी गर्दै भने।
यसको संकेत चैत २० गतेको सचिवालय बैठकमै देखिएको ती नेताको दाबी छ। चैत १९ गते प्रतिनिधि सभाको पहिलो बैठकमा दलका तर्फबाट बोल्ने क्रममा नेता रामबहादुर थापा ‘बादल’ले यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा क–कसको निर्णायक भूमिका रह्यो? तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला कार्की सरकार, कार्की आयोग, बारबारा फाउण्डेसन, एनजिओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो,’ भनेका थिए।
यसप्रति उपाध्यक्ष पौडेलले आपत्ति प्रकट गरेका थिए। उनले भोलिपल्टै सचिवालय बैठक बोलाउन माग गरेका थिए। चैत २० गते नै बसेको सचिवालय बैठकले बादलको अभिव्यक्ति सच्याएको थियो।
‘बैठकले मुलुकको संविधान र प्रचलित कानुन बमोजिम निर्माण भएका नेपाली सेना लगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्युरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ,’ बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको थियो।
त्यस दिनको सचिवालय बैठकमा पनि महासचिव पोखरेलले दलका नेता बादलको अभिव्यक्ति सच्याउन भूमिका खेलेको अर्का पदाधिकारीको दाबी छ। ‘पार्टीले जनादेशको सम्मान गर्नुपर्छ। जनादेशको सम्मान नहुने गरी धारणा राख्नु हुँदैन,’ महासचिव पोखरेलले सचिवालय बैठकमा भनेका थिए। यसले पनि उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबीचको समझदारीको संकेत गर्ने ती नेताको दाबी छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij