Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

आगामी बजेटमा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न माग

आगामी बजेटमा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न माग

काठमाडौँ :  दलित महिला सङ्घ (फेडो) ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट, नीति तथा कार्यक्रममा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न सरकारसँग माग गरेको छ।

सङ्घले साेमबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीलाई भेटघाट गर्दै बजेट निर्माण गर्दा दलित महिलाका सामाजिक, आर्थिक तथा अधिकारसम्बन्धी सवाललाई प्राथमिकतामा राख्न आग्रह गरेको हो।

फेडोका महासचिव रेनु सिजापतिले दलित महिलालाई उद्यमी बनाउने उद्देश्यले दीर्घकालीन सीपमूलक तालिम तथा अनुदानको व्यवस्था गर्नुका साथै मन्त्रालयअन्तर्गत सञ्चालन हुने सबै कार्यक्रममा दलित महिला तथा किशोरीको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको बताए।

यसैगरी हिंसामा परेका तथा वैदेशिक रोजगारीबाट फर्किएका महिलाका लागि सुरक्षित आवास र रोजगारीमुखी तालिमको व्यवस्था गर्न आग्रह गरिएको छ । बालविवाह, छुवाछुत, बलात्कार जस्ता हानिकारक अभ्यासविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा पनि फेडोले जोड दिइएको छ ।

“यसका साथै प्रदेशस्तरमा दलित तथा सीमान्तकृत बालबालिकाको सञ्जाल गठन, नागरिकता वितरणमा सहजता, सेवा सुविधाको अध्ययन तथा अनुगमन र दलित महिलाको तथ्याङ्क सङ्कलन गर्नुपर्ने मागसमेत राखिएको छ”, महासचिव सिजापतिले भने,“नीति, बजेट तथा कार्यक्रममा दलित महिलाको सहभागिता अनिवार्य गर्दै लैङ्गिक तथा सामाजिक समावेशीकरण सुनिश्चित गर्न पनि मन्त्री वादीमार्फत सरकारसँग आग्रह गरेको छौँ ।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट