Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

लयमा फर्किंदै घरजग्गा व्यापार, तीन वर्षयताकै उच्च कारोबार

लयमा फर्किंदै घरजग्गा व्यापार, तीन वर्षयताकै उच्च कारोबार

काठमाडौं : लामो समयदेखि फस्टाउन नसकेको घरजग्गा कारोबारले लय लिन थालेको देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले घरजग्गा कारोबार क्रमशः सुधार हुँदै गएको देखाएको हो । 

क्षेत्रीय आधारमा कारोबारको प्रकृति फरक भए पनि सहरी क्षेत्रमा आवासीय प्रयोजनका लागि साना तथा मझौला प्लटको माग स्थिर र बलियो देखिएको प्रतिवेदनमा उल्लेख छ । पछिल्ला तीन आवको तथ्यांक हेर्दा आव ०८१/८२ को चौथो त्रैमासमा घरजग्गा कारोबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । 

“नेपालको घरजग्गा बजारमा पछिल्लो समय सुधारका महत्त्वपूर्ण संकेत देखिएका छन् । आव ०८१/८२ को चौथो त्रैमासमा कुल चार लाख ५६ हजार संख्यामा घरजग्गा कारोबार हुनुले यस क्षेत्रमा रहेको शिथिलता अन्त्य भई बजार पुनः चलायमान हुन थालेको संकेत गरेको छ । उक्त कारोबार लिखत पारित, नामसारी घरजग्गाको हो,” प्रतिवेदनमा उल्लेख छ । 

सोही अवधिमा घरजग्गा राजीनामा र लिखत पास गरी एक लाख १४ हजार ७६९ कारोबार भएको छ । जुन तीन वर्षकै उच्च रहेको केन्द्रीय बैंकले औँल्याएको छ ।

घरजग्गा कारोबारमा मौसमी प्रभाव

कारोबार रकमका आधारमा घरजग्गाको राजीनामा कारोबारअन्तर्गतको थैली रकम (घोषणा गरिएको मूल्य) आवमा ०७९/८० को पहिलो त्रैमासमा ५८ अर्ब ६६ करोड रुपैयाँबराबर थियो । सो आवको अन्त्यसम्म बढेर ९५ अर्ब ५० करोड रुपैयाँबराबरको कारोबार भएको थियो । 

त्यसपछि आव ०८०/८१ को पहिलो त्रैमाससम्म ७९ अर्ब २० करोड रुपैयाँ कारोबार हुँदा सो आवको अन्त्यसम्म एक खर्ब ६ अर्ब ४० करोड रुपैयाँबराबरको घरजग्गा किनबेच भएको थियो । यस्तै, आव ०८१/८२ को पहिलो त्रैमाससम्म ७५ अर्ब २० करोड रुपैयाँको घरजग्गा कारोबार भएको थियो । सो उक्त आवको चौथो त्रैमाससम्म आइपुग्दा दोब्बरभन्दा बढीले वृद्धि भई एक खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको तथ्यांकले देखाएको छ ।

यसअनुरूप घरजग्गा कारोबारमा मौसमी प्रभाव स्पष्ट देखिएको राष्ट्र बैंकले औँल्याएको छ । तथ्यांकअनुसार पहिलो त्रैमासमा कारोबार कम हुने र तेस्रो तथा चौथो त्रैमासमा उच्च हुने गरेको छ । “राजीनामा (स्वैच्छिक हस्तान्तरण) अन्तर्गतका कारोबार पछिल्लो १२ त्रैमासदेखि बढ्दो क्रममा छन् । जसअनुरूप, ०८१/८२ को चौथो त्रैमासमा मात्रै एक लाख १४ हजार ७६९ राजीनामा कारोबार भएका थिए,” प्रतिवेदनमा उल्लेख छ ।

प्रादेशिक घरजग्गाको कारोबार कति ?

कारोबार संख्या र कारोबार गरिएको क्षेत्रफलका आधारमा मधेस प्रदेश लगातार पहिलो स्थानमा रहेको तथ्यांकमा देखिन्छ । कारोबार संख्याका आधारमा मधेस अग्रस्थानमा छ । यसपछि लुम्बिनी र कोसी छन् । कर्णाली र सुदूरपश्चिममा सबैभन्दा कम कारोबार हुने गरेको छ । कारोबार भएको जग्गाको क्षेत्रफलका आधारमा मधेस प्रदेशको हिस्सा सबैभन्दा उच्च छ । त्यसपछि कोसी र लुम्बिनी छन् । 

प्रतिवेदनअनुसार, मधेसमा कृषि तथा औद्योगिक प्रयोजनका लागि २० आनाभन्दा ठूला प्लटहरूको कारोबार बढी हुने गरेको देखिएको छ । “अर्कातर्फ, कारोबारको कुल ‘थैली रकम’का आधारमा भने वाग्मती प्रदेश सबैभन्दा अगाडि छ । यस प्रदेशमा आव ०८१/८२ को चौथो त्रैमासमा मात्रै ५१ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको थियो । कर्णाली भने सबैभन्दा कम कारोबार भएको छ,” प्रतिवेदनमा उल्लेख छ । 

घरजग्गामा सहरी आकर्षण, राजधानीमा कम कारोबार

समग्रमा राष्ट्रियस्तरमा २.५ देखि १० आनासम्मका जग्गाका प्लटमा सबैभन्दा बढी आकर्षण देखिएको छ । उक्त जग्गा हिस्सा कुल कारोबारको औसत ४३ प्रतिशत हिस्सा ओगटेको तथ्यांकमा उल्लेख छ । “यो जग्गाको कारोबार भएको क्षेत्रफलका आधारमा मधेस प्रदेशबाहेक सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी कारोबार हुने गरेको छ भने मधेस प्रदेशमा २० आनाभन्दा माथिका प्लटमा बढी कारोबार देखिएको छ,” राष्ट्र बैंकले जनाएको छ ।

यता महानगरपालिकाहरूको हकमा भरतपुर महानगरपालिकामा सबैभन्दा बढी कारोबार भएको देखिएको छ । जबकि, काठमाडौं र ललितपुरमा जग्गाको मूल्य उच्च भएका कारण कारोबार संख्या तुलनात्मक रूपमा कम देखिएको प्रतिवेदनले औँल्याएको छ ।

प्रतिवेदनअनुसार, विशेषगरी घोषित मूल्य (थैली रकम)का आधारमा वाग्मती अग्रस्थानमा छ । महानगर तथा उपमहानगरपालिकामा पाँचदेखि १० आना क्षेत्रफलका प्लट सबैभन्दा बढी कारोबार भएको देखिएको छ । 

विगतमा राजस्व प्रभावित

सरकारी राजस्वको सन्दर्भमा, ०७८/७९ को पहिलो त्रैमासमा २३ अर्ब सात करोड रुपैयाँ पुगेर उच्च विन्दुमा पुगेको राजस्व बीचमा घटेर आठ अर्ब दुई करोड रुपैयाँसम्म पुगेको थियो । तर, पछिल्लो समय ०८१/८२ को अवधिमा १० देखि १५ अर्ब रुपैयाँको हाराहारीमा रहँदै राजस्व संकलनमा क्रमिक सुधार देखिएको  केन्द्रीय बैंकले औँल्याएको छ ।

घरजग्गामा कर्जा वृद्धि कायमै

घरजग्गा क्षेत्रमा प्रवाह हुने बैंक कर्जा पनि उल्लेख्य रूपमा बढेको छ । आर्थिक वर्ष ०७७/७८ देखि ०८१/८२ को बीचमा रियल स्टेट कर्जा ७२.४१ प्रतिशत छ । यस्तै, उक्त अवधिमा आवासीय घर कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको तथ्यांकमा उल्लेख छ । केन्द्रीय बैंकले आव ०७९/८० लाई आधार वर्षका रूपमा लिई रियल–स्टेट कारोबारको प्रवृत्तिसम्बन्धी तथ्यांक प्रकाशन गर्न सुरु गरेको बताएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र केन्द्रीय बैंकले संकलन गर्ने तथ्यांकका आधारमा रियल–स्टेट कारोबारसम्बन्धी तथ्यांक त्रैमासिक रूपमा प्रकाशन गरिने बताएको छ । 

रियल–स्टेट कारोबारको प्रवृत्तिको विश्लेषण लिखत पारितअन्तर्गत, राजीनामा कारोबारका आधारमा गरिएको केन्द्रीय बैंकले बताएको छ । रियल–स्टेट कारोबारको संख्या, कारोबारको मूल्य, कारोबार भएको क्षेत्रफल, राजस्व संकलन र रियल–स्टेट क्षेत्रमा गएको बैंक कर्जाजस्ता तथ्यांकका आधारमा रियल–स्टेट कारोबारको प्रवृत्ति विश्लेषण गरिएको राष्ट्र बैंकले जनाएको छ । रियल–स्टेट कारोबारसम्बन्धी यस प्रकृतिको तथ्यांकबाट रियल–स्टेट क्षेत्रको गतिविधि आकलन गर्न सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास छ । यस तथ्यांकका आधारमा घरजग्गा मूल्य सूचकांक निर्माण तथा प्रकाशन गर्ने दोस्रो चरणको तयारीसमेत गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट