Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

लुम्बिनी केवलकारको व्यापार गिरावट, होटल निर्माणको लागतसँगै ऋणको भारले वित्तीय जोखिम

लुम्बिनी केवलकारको व्यापार गिरावट, होटल निर्माणको लागतसँगै ऋणको भारले वित्तीय जोखिम

काठमाडौं : बुटवलमा सञ्चालित लुम्बिनी केवलकार लिमिटेड (एलसीएल)को व्यापारमा गिरावट आएको छ। सञ्चालनमा आएको छोटो समयमै छिमेकी क्षेत्रमा सुरु भएको अर्को केवलकारसँगको प्रतिस्पर्धा र घट्दो पर्यटक संख्याका कारण कम्पनीको वित्तीय स्वास्थ्यमा दबाब देखिएको हो।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार, आर्थिक वर्ष २०२४ मा १३ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको व्यापार आर्थिक वर्ष २०२५ मा घटेर १२ करोड ३० लाख रुपैयाँमा खुम्चिएको छ। चालू आर्थिक वर्ष २०२६ को पहिलो ६ महिना (पुस मसान्त) सम्मको तथ्यांक हेर्दा कम्पनीले मात्र ५ करोड ३० लाख रुपैयाँ (अपरिस्कृत) बराबरको व्यापार गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १४ प्रतिशतको वार्षिक गिरावट हो।

कम्पनीको मुख्य चुनौतीका रूपमा छिमेकी क्षेत्रमा रहेको अर्को केवलकारसँगको प्रतिस्पर्धालाई मानिएको छ, जसका कारण केवलकार चढ्ने यात्रुको संख्यामा आर्थिक वर्ष २०२५ मा २६ प्रतिशत र २०२६ को पहिलो ६ महिनामा ११ प्रतिशतले कमी आएको छ। व्यापार घटे पनि कम्पनीको सञ्चालन नाफा मार्जिन भने करिब ५० प्रतिशतको हाराहारीमा कायम छ। यद्यपि, भारी ऋण र बढ्दो लागतका कारण कम्पनीको खुद नाफा नकारात्मक छ। सन् २०२६ को मध्य जनवरीसम्म कम्पनीको सञ्चित नोक्सानी चुक्ता पुँजीको १० प्रतिशत पुगिसकेको छ।

कम्पनीले केवलकारको टप स्टेसन (पाल्पा) मा पाँचतारे होटल निर्माण गर्ने योजना बनाएको छ। करिब २ अर्ब २५ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना अहिले डिजाइनको प्रारम्भिक चरणमै छ। होटलका लागि आवश्यक ऋणको अझै पूर्ण व्यवस्था हुन बाँकी छ। जसले आयोजना कार्यान्वयनमा जोखिम बढाएको छ। होटल सञ्चालनमा आएपछि मात्र कम्पनीको नगद प्रवाहमा सुधार हुने अपेक्षा गरिए पनि पर्यटकीय सिजनको अनिश्चितता र क्षेत्रमा रहेका अन्य होटलसँगको प्रतिस्पर्धाले चुनौती थपिने देखिन्छ।

कम्पनीको वित्तीय अवस्था कमजोर रहे पनि अनुभवी प्रवद्र्धक र पूँजी थप गर्ने प्रक्रियाले केही राहत दिएको छ। आइएमई ग्रुप अन्तर्गतको यो कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, रमेश शर्मा र हेमराज ढकाल जस्ता अनुभवी व्यवसायीहरूको मुख्य लगानी छ। 

कम्पनीले हालै ५७ करोड ७० लाख रुपैयाँ बराबरको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेकोमा २५ करोड रुपैयाँ इन्फ्युज भइसकेको छ। यसबाट प्राप्त रकमले कम्पनीले आफ्नो ऋणको केही हिस्सा (करिब २३ करोड रुपैयाँ) भुक्तानी गरिसकेको छ, जसका कारण ऋण र इक्विटीको अनुपातमा सुधार आएको छ। साथै, कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक सेयर (आएपिओ) निष्कासन गर्ने तयारी समेत गरेको छ। जसमा कम्पनीलाई इक्राले आइपिओ जारी गर्ने ‘बी प्लस’ इश्युआर रेटिङ दिएको छ। 

यस्तै, लुम्बिनी केवलकारले यसअघि १ अर्ब ४० करोड रुपैयाँको बैंक ऋण सीमा पाएको थियो, जसलाई उपयोग गरेर पनि तिरेपछि अब ७३ करोड २० लाख रुपैयाँको नवीकरण ऋण सीमा पाएको छ। जसमा इक्रा नेपालले कम्पनीलाई प्रदान गरेका ‘एलबी प्लस’ टिङलाई पुनः पुष्टि गरेको छ। यो रेटिङले कम्पनीले आफ्नो वित्तीय दायित्व र ऋणको साँवा–ब्याज समयमै भुक्तानी गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ। कम्पनीको ऋण सेवा कभरेज अनुपात सन् २०२६ को मध्य जनवरीसम्म ०.८ गुणा मात्र छ, जुन सन्तोषजनक मानिँदैन। आगामी दिनमा केवलकारको यात्रु संख्या बढाउनु र निर्माणाधीन होटल आयोजनालाई तोकिएको समय र लागतमा सम्पन्न गर्नु नै कम्पनीका लागि मुख्य चुनौती हुने रेटिङ रिपोर्टमा उल्लेख छ। 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट