नारायणगढ : भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि कुरिलो खेती गर्दै आएको छ।आश्रमका व्यवस्थापक तारानाथ पौडेलका अनुसार आश्रमअन्तर्गत सञ्चालित पशु तथा कृषि फार्ममार्फत कुरिलो, अम्बा, भुइँकटहरलगायत बाली पूर्ण रूपमा प्राङ्गारिक तरिकाले उत्पादन गरिँदै आएको छ।
आश्रम सञ्चालनका लागि सामूहिक प्रयासस्वरूप १८ वर्षका लागि वार्षिक रु ७२ हजारमा जमिन भाडामा लिएर खेती गरिएको छ। उक्त जमिनमध्ये १५ कट्ठामा कुरिलो खेती गरिएको उनले जानकारी दिए। यसबाट आएको आम्दानीले आश्रम सञ्चालनमा आर्थिक सहयोग पुगेको उनको भनाइ छ।
प्राङ्गारिक उत्पादन भएकाले बजार खोज्न नपर्ने र फार्म तथा आश्रमबाटै सहज रूपमा बिक्री हुने गरेको उनले बताए। “प्राङ्गारिक उत्पादन भएकाले खर्च बढी लाग्ने भए पनि यसको माग राम्रो छ,” पौडेलले भने।
कुरिलो औषधीय गुणयुक्त बाली भएकाले यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ। यसमा कुनै पनि रासायनिक मल तथा विषादी प्रयोग गरिएको छैन। गाईको गोबर र गौमूत्रबाट तयार गरिएको मल प्रयोग गरिँदै आएको छ।
“विषादी प्रयोग गर्दा खेती सजिलो हुन्छ तर हामीले पूर्ण रूपमा प्राङ्गारिक विधि अपनाएकाले उत्पादन केही कम हुन्छ,” उनले भने। कुरिलो खेतीमा करिब रु आठ लाख लगानी गरिएको छ। उत्पादनबाट आएको आम्दानीले खर्च कटाएर आश्रम सञ्चालनमा सहयोग पुगेको उनले बताए।
यामअनुसार कुरिलोको मूल्य प्रतिकिलो रु ५०० देखि एक हजार २०० सम्म पर्ने गरेको छ। सिजनमा दैनिक करिब २० केजीसम्म बिक्री हुने गरेको छ। यसका साथै सिजनअनुसार अन्य तरकारी पनि उत्पादन गरिँदै आएको छ।
पौडेलका अनुसार कुरिलोको मुख्य सिजन चैत, वैशाख र जेठ महिना हो। यहाँ यो बाली चार वर्षदेखि उत्पादन हुँदै आएको छ र उचित हेरचाह गरेमा १०–१२ वर्षसम्म उत्पादन दिन सक्छ।
प्राङ्गारिक खेती गर्दा रोग, कीरा तथा झारको समस्या बढी हुने उल्लेख गर्दै उनले कृषि विकास कार्यालय चितवनका प्राविधिक सहयोगमा खेतीलाई व्यवस्थित बनाउँदै आएको बताए। कुरिलो रोपेको करिब ६ महिनापछि उत्पादन लिन सकिन्छ। यसको बीउ बजारमा सजिलै पाइन्छ भने माघ, फागुन र चैत रोपाइँका लागि उपयुक्त समय मानिन्छ।
हाल आश्रममा २० जना आश्रित तथा आगन्तुकका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको छ। साथै आश्रममा गाईपालन गरिएकाले प्राङ्गारिक मल उत्पादनमा सहयोग पुगेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij