काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार उहाँसँग कुल २४ करोड १६ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको देखिएको छ।
सार्वजनिक विवरणमा घरजग्गा, सवारी साधन, सुनचाँदी, बैंक मौज्दात तथा विभिन्न कम्पनीमा गरिएको सेयर लगानी समेटिएको छ। मन्त्री पोखरेलको नाममा काठमाडौंमा करिब अढाई तले घर रहेको छ, जसको मूल्य ४ करोड रुपैयाँ उल्लेख गरिएको छ। त्यसैगरी, मूलपानीमा ६ आना जग्गा (करिब ५ करोड रुपैयाँ) र मोरङमा १ कठ्ठा जग्गा (१ करोड रुपैयाँ) उहाँकै नाममा रहेको छ।
पारिवारिक सम्पत्तितर्फ उहाँका बुवाको नाममा काठमाडौंमा ४ आना २ पैसा जग्गा (करिब साढे २ करोड रुपैयाँ) रहेको छ भने आमा मिनाक्षी पोखरेलको नाममा गोदावरी र गोकर्णेश्वर क्षेत्रमा करिब ३ करोड रुपैयाँ बराबरको जग्गा रहेको विवरणमा उल्लेख छ। साथै, परिवारकै नाममा गोदावरीमा ११ रोपनी ४ आना जग्गा रहेको र यसको मूल्य करिब ५ करोड रुपैयाँ रहेको जनाइएको छ।
गरगहनातर्फ मन्त्री पोखरेलसँग २५ तोला सुन र १०० तोला चाँदी रहेको उल्लेख छ, जसको कुल मूल्य करिब ७५ लाख रुपैयाँ रहेको छ। साथै, २५ हजार रुपैयाँ नगद पनि रहेको विवरणमा जनाइएको छ। उहाँले यी सम्पत्ति पैतृक स्रोत, बुवाको आम्दानी तथा आमाबाट प्राप्त दाइजोबाट संकलन भएको स्पष्ट पार्नुभएको छ।
बैंक मौज्दाततर्फ सानीमा बैंक र एनआईसी एसिया बैंक मा गरी कुल ४ लाख ४८ हजार रुपैयाँ जम्मा रहेको देखिएको छ। त्यस्तै, विभिन्न कम्पनीमा परिवारको नाममा १ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर लगानी रहेको उल्लेख गरिएको छ।
सवारी साधनतर्फ उहाँका बुवाको नाममा करिब ७० लाख रुपैयाँ मूल्यको एक विद्युतीय कार रहेको छ भने मन्त्री पोखरेलकै नाममा झन्डै ४० लाख रुपैयाँ मूल्यको अर्को कार रहेको विवरणमा जनाइएको छ। साथै, उहाँले ७५ लाख रुपैयाँ ऋण दायित्व पनि रहेको उल्लेख गर्नुभएको छ।
समग्रमा चल–अचल सम्पत्ति तथा दायित्व समेट्दा मन्त्री पोखरेलको कुल सम्पत्ति २४ करोड १६ लाख रुपैयाँ पुगेको विवरणमा उल्लेख छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij