काठमाडौँ : गृहमन्त्री सुधन गुरुङकाे सम्पत्ति विवरण सार्वजनिक भएकाे छ । प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार उनी र उनको परिवारको नाममा ठुलो परिमाणमा जग्गा, विभिन्न कम्पनीका सेयर, बैंक ब्यालेन्स, सवारी साधन र पैतृक सुन रहेको उल्लेख छ ।
गृहमन्त्री गुरुङको व्यक्तिगत नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ । त्यस्तै, उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनमा ३० कठ्ठा जग्गा उल्लेख गरिएको छ । विशेषगरी, उनका बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी विशाल जग्गा रहेको सम्पत्ति विवरणमा जनाइएको छ ।
सेयर बजारमा पनि उनको उल्लेख्य लगानी देखिएको छ । होप होल्डिङ प्रालिको ३० हजार कित्ता सेयर र लगुम प्रिमियर अपार्टमेन्टको ५७ हजार कित्ता सेयर रहेको विवरणमा उल्लेख छ । धितोपत्र बजारमा कारोबार हुने विभिन्न कम्पनीका सेयरहरू गरेर २ करोड ७४ लाख ५६ हजार रुपैयाँको लगानी देखाइएको छ ।
यस्तै, एडभेन्चेर भिल्ला प्रालिको ७० हजार थान सेयर अर्थात् ७० लाख रुपैयाँ पनि उनले आफ्नो सम्पत्तिमा उल्लेख गरेका छन् ।सवारी साधनतर्फ गृहमन्त्री गुरुङसँग लगुम प्रिमियर अपार्टमेन्टको एक थान कार रहेको खुलाइएको छ, जसको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ उल्लेख गरिएको छ ।
बैंक ब्यालेन्सतर्फ, लक्ष्मी सनराइज बैँकमा ५ लाख ३५ हजार रुपैयाँ, नबिल बैंकमा ५६ लाख २५ हजार रुपैयाँ र सानीमा बैँकमा १५ सय रुपैयाँ रहेको जनाइएको छ । गृहमन्त्री गुरुङसँग ८९ तोला सुन रहेको पनि उनले विवरणमा उल्लेख गरेका छन्, जसलाई पैतृक सम्पत्ति भनी जनाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij