काठमाडौंः अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको २१ घण्टा लामो वार्ता कुनै ठोस सम्झौता बिना नै टुङ्गिएको बताएका छन्।
पाकिस्तानको इस्लामाबादमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै भान्सले लामो समयसम्म गहन र गम्भीर छलफल भएपनि युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने विषयमा इरानसँग सहमति हुन नसकेको जानकारी दिएका हुन्।
उपराष्ट्रपति भान्सले इरानी प्रतिनिधिमण्डलसँग २१ घण्टासम्म भएका छलफलहरू विषयवस्तुका हिसाबले महत्त्वपूर्ण रहेपनि अन्ततः त्यसले कुनै नतिजा दिन नसक्नु दुःखद भएको बताए। उनले वार्ता असफल हुनु संयुक्त राज्य अमेरिकाका लागि भन्दा पनि इरानका लागि बढी चुनौतीपूर्ण र नराम्रो खबर भएको टिप्पणी गरे।
कुनै पनि औपचारिक सम्झौतामा हस्ताक्षर हुन नसकेपछि अमेरिकी टोली अब स्वदेश फर्कने तयारीमा रहेको उनले स्पष्ट पारे।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको परिणामले आफूलाई खासै फरक नपर्ने बताएका थिए। हर्मुज जलडमरू र आणविक कार्यक्रम जस्ता रणनीतिक मुद्दाहरूमा केन्द्रित रहेको यस वार्ता निष्कर्षविहीन भएसँगै यस क्षेत्रमा शान्ति स्थापना गर्ने प्रयासमा धक्का लागेको समाचारहरुमा जनाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij