सोलुखुम्बु : सामुदायिक लघुवित्त वित्तीय संस्थाको विभिन्न शाखामा प्रमुख भएर कार्य गर्दा संस्थाको रकम गैरकानूनी रूपमा अपचलन गरेको आरोपमा सन्तोष मगर पक्राउ परेका छन् । सिन्धुलीको फिक्कल गाउँपालिका १ घर भएका २७ वर्षीय मगरलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको विशेष टोलीले सिन्धुली प्रहरीको समन्वयमा नियन्त्रणमा लिएको हो। उनलाई सिन्धुलीको कमलामाई नगरपालिका ५ मधुटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मगरले सोलुखुम्बुको सल्लेरी लगायतका विभिन्न शाखाहरूमा कार्यरत रहँदा पदको दुरुपयोग गर्दै कृत्रिम कर्जा प्रवाह भएको देखाएर आर्थिक अपचलन गरेको उजुरी परेको थियो। संस्थाका तर्फबाट अख्तियार प्राप्त प्रतिनिधि वाङ्गेल लामाले मगरले गैरकानूनी तवरबाट रकम लिनुदिनु गरी संस्थालाई ठूलो आर्थिक क्षति पुर्याएको भन्दै जाहेरी दिएका थिए।
सोही जाहेरीका आधारमा उच्च अदालत विराटनगरबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। फरार रहेका मगरको खोजीमा जुटेको प्रहरीले उनलाई सिन्धुलीमा फेला पारेर सोलुखुम्बु ल्याएको हो।
पक्राउ परेका मगरलाई चैत २२ गते उच्च अदालत विराटनगरबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईले जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij