काठमाडौँ : सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता बमोजिम काम नगर्ने ८ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले २०८२ साल चैत २२ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
सोमबार सूचना प्रकाशित गर्दै कार्यालयले कालोसूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन नपाउने स्पष्ट पारेको छ ।
कालोसूचीमा पर्नेहरूमध्ये दुई वटा कम्पनीलाई सबैभन्दा बढी ३ वर्षका लागि प्रतिबन्ध लगाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसमा काठमाडौँको सिल्क मार्केट प्रालि र बागमती नगरपालिका,सर्लाहीको सिफारिसमा काठमाडौँको धुलिखेल निर्माण सेवा प्रालि ३ वर्षका लागि कालोसूचीमा परेका छन् ।
त्यसैगरी, सडक डिभिजन, जनकपुरको सिफारिसमा महोत्तरीको ब्रदर्स कन्स्ट्रक्सनलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ । अन्य ५ वटा कम्पनीहरू १ वर्षका लागि कालोसूचीमा परेका छन् । जसमा रोल्पाको लोक निर्माण सेवा तथा सप्लायर्स, गोरखाको देबु निर्माण सेवा, चितवनको अभान कन्स्ट्रक्सन, काठमाडौँको सूर्य दीप छापाखाना र रुपन्देहीको हिमशिखा कन्स्ट्रक्सन प्रालि रहेका छन् ।
विभिन्न नगरपालिका, गाउँपालिका र सरकारी कार्यालयहरूबाट लेखी आए बमोजिम ती कम्पनीहरूले काममा ढिलासुस्ती गरेको वा सर्त पालना नगरेका कारण कार्यालयले यो कारबाही गरेको हो। कालोसूचीमा राख्ने यो निर्णय सूचना प्रकाशित भएको मितिदेखि नै लागू हुनेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij