Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

महिलालाई आयआर्जनमा जोड्न पञ्चेबाजा तालिम

महिलालाई आयआर्जनमा जोड्न पञ्चेबाजा तालिम

म्याग्दीः परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई पञ्चेबाजा बजाउने तालिम दिइएको छ। 

शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाका महिला र आमा समूहका प्रतिनिधिलाई पञ्चेबाजा बजाउने तालिम दिइएको हो। एक महिनासम्म सञ्चालन भएको तालिममा १६ महिला सहभागी थिए। उनीहरुलाई बाजा बजाउन सिकाइएको सिकाई केन्द्रका परिचालक सीता कुँवर थापाले बताइन्। 

विवाह, ब्रतबन्ध, छेवरलगायत शुभकार्यमा पञ्चेबाजा बजाउन बाहिरदेखि वाद्यवादक ल्याउनुपर्ने बाध्यता हटाउन र महिलाको आयआर्जन वृद्धिका लागि पञ्चैबाजा बजाउने तालिम सञ्चालन गरिएको सिकाई केन्द्रका अध्यक्ष भरतप्रसाद शर्माको भनाई छ। 

तालिमका लागि चालु आर्थिक वर्षमा वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले एक लाख ५० हजार रुपैयाँ र सीप विकास तालिमका लागि गण्डकी प्रदेश सरकारले एक लाख ७० हजार रुपैयाँ अनुदान प्रदान गरेको थियो। पञ्चेबाजामा सहनाइ, ढोलकी, ट्याम्को, दमाहा, झ्याली र कर्नल समावेश हुन्छन्। 

सिप सिकेकालाई व्यावसायिक रूपमा बाजा बनाउने पेसामा आबद्ध गराउन एक सेट बाजा पनि उपलब्ध गराइएको वडा अध्यक्ष अणबहादुर खड्काले बताए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट