बार्सिलोना: स्पेनमा आफ्नै बुवासँगको लामो कानुनी सङ्घर्षपछि एक २५ वर्षीया युवतीले इच्छामृत्यु (युथनेसिया) मार्फत प्राण त्यागेकी छिन्। सन् २०२२ मा आत्महत्याको प्रयास गर्दा गम्भीर घाइते भई कम्मरमुनिको भाग नचल्ने अवस्थामा पुगेकी बार्सिलोना निवासी नोएलिया कास्टिलोले बिहीबार साँझ अन्तिम श्वास फेरेकी हुन्।
स्पेनको क्याटालन सरकारले सन् २०२४ को गृष्म ऋतुमै उनलाई ससम्मान मर्ने अधिकार प्रदान गरेको भए तापनि उनका बुवा र अनुदारवादी समूह क्रिस्चियन लायर्सको कानुनी अवरोधका कारण यो प्रक्रिया १८ महिनासम्म रोकिएको थियो। नोएलियाका बुवाले आफ्नी छोरी मानसिक समस्या (पर्सनालिटी डिसअर्डर) बाट गुज्रिरहेकाले उनले सही निर्णय लिन नसक्ने तर्क गर्दै अदालतमा मुद्दा दायर गरेका थिए।
उनले मानसिक स्वास्थ्य समस्या भएका र असहाय नागरिकको जीवन रक्षा गर्नु राज्यको दायित्व भएको जिकिर समेत गरेका थिए। तर, यो विवाद स्पेनको अदालत हुँदै युरोपेली मानव अधिकार अदालतसम्म पुगेको थियो, जहाँ अदालतले नोएलियाको पक्षमा फैसला सुनाउँदै उनलाई आफ्नो जीवनको अन्त्य गर्ने निर्णय गर्ने अधिकार रहेको ठहर गर्यो।
मृत्युभन्दा केही दिनअघि स्पेनी टेलिभिजनसँग कुरा गर्दै नोएलियाले आफ्नो बाल्यकाल निकै कष्टकर बितेको र परिवारबाट कहिल्यै साथ नपाएको दुखेसो पोखेकी थिइन्। उनले आफू पूर्व प्रेमी र अन्य पुरुषहरूबाट पटक-पटक यौन हिंसाको शिकार भएको र वर्षौँदेखिको मानसिक तथा शारीरिक पीडा सहन नसक्ने अवस्थामा पुगेको बताएकी थिइन्।
‘मेरो बुवाले मेरो निर्णयलाई कहिल्यै सम्मान गरेनन्,’ उनले टेलिभिजन अन्तर्वार्तामा भनेकी थिइन्, ‘आमाबाबु वा दिदीबहिनीको खुसी छोरीको खुसीभन्दा माथि हुन सक्दैन, म केवल शान्तिसँग जान चाहन्छु र यो दुखाइ अन्त्य गर्न चाहन्छु।’
नोएलियाको मृत्युपछि क्रिस्चियन लायर्स समूहले सामाजिक सञ्जाल एक्समार्फत उनको निधनको पुष्टि गर्दै स्पेनको इच्छामृत्यु सम्बन्धी कानुनमा गम्भीर त्रुटी रहेको टिप्पणी गरेको छ। नोएलियाकी आमा योलाण्डाले भने छोरीको निर्णयमा आफ्नो असहमति रहे पनि उनको इच्छाको सम्मान गर्ने बताएकी थिइन्।
अन्तिम समयमा परिवारलाई बिदाइ गर्न अनुमति दिए पनि घातक इन्जेक्सन लगाउने बेला आफू डाक्टरसँग एक्लै बस्न चाहेको इच्छा नोएलियाले व्यक्त गरेकी थिइन्।
स्पेनमा सन् २०२१ देखि इच्छामृत्युलाई वैधानिकता दिइएको हो। सरकारी तथ्यांक अनुसार सन् २०२४ मा मात्रै ४२६ जनाले यस प्रक्रियामार्फत मृत्यु रोज्न अनुमति पाएका थिए। तर, कुनै व्यक्तिको इच्छामृत्युको निर्णयलाई रोक्न परिवारका सदस्य अदालतसम्म पुगेको यो स्पेनकै पहिलो घटना हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij